काभ्रे। जिल्लाको बनेपा नगरपालिका १० जनागालका मुक्ति विष्टलाई अहिले स्ट्रबेरी फल टिप्न र बजार पठाउन भ्याइनभ्याइ छ। पछिल्ला दुई वर्षमा ३० लाखको आम्दानी गरिरहेका विष्ट हाल जनागाल र नुवाकोटको ककनीमा स्ट्रबेरीको रेखदेख गर्नमा व्यस्त छन्।
करिब चार वर्षअघि ‘कोरोना महामारीकाल’मा हरेक क्षेत्रका व्यक्तिले रोजीरोटी गुमाइरहेका बेला निकालेको ‘जुक्ति’ले मुक्ति विष्ट अहिले स्ट्रबेरीको स्थापित व्यवयासायी बनेका हुन्। उनी त्यसबेलाको जुक्तिबाट व्यावयायिक स्ट्रबेरी खेतीमा रत्तिभर विचलित नभई व्यवसायको दायरा बढाउँदै रमाइरहेका थिए।
‘अहिले बजारीकरणको समस्या छैन, स्थानीय तथा उपत्यकाको बजारमा रू तीन सयदेखि सात सयसम्ममा स्ट्रबेरी बिक्री भइरहेको छ,’ विष्टले भने।
उनले १० रोपनी जग्गामा स्ट्रबेरी रोपेर जिल्लामा मात्र नभएर देशकै नमुना कृषकको पहिचान बनाउने अभियानमा छन्। ४५ वर्षीय विष्टले स्ट्रबेरी रोप्ने सीप सिकेर व्यवसाय थालेका भने होइनन्। अरूले रोपेको देखेर र भनेको सुनेकै भरमा खेती सुरु गरेका थिए।
गत वर्ष सबै खर्च कटाएर ३० लाख बचत गरेका थिए, उनले। उनी यस वर्ष यतिकै हाराहारीमा आम्दानी लिने अपेक्षामा छन्।
योसँगै उनको व्यवसायमा दैनिक पाँच जनाले रोजगारी पनि पाएका छन्। व्यवसायका लागि उनले विभिन्न सहकारी र बैंकबाट केही ऋण लिएको बताउँछन्। ‘व्यवसायका लागि सरकारले दिने सहुलियत ऋणका लागि प्रयास गरिरहेको छु, तर पाएको छैन,’ उनले भने।
दुई महिनामा हुर्केको स्ट्रबरीले उत्पादन दिन थाल्छ। उनले स्ट्रबेरी खेती थालेको थाहा पाउने बनेपा तथा आसपासका उनको खेती हेर्ने र किनेर लैजाने गर्छन्। विष्ट भन्छन्, ‘आजकाल दैनिक मेरो स्ट्रबेरी खेती हेर्न आउनेक्रम बढ्दैछ, उहाँहरू यहीबाटै किनेर पनि लैजानुहुन्छ, उहाँहरूलाई म बजारको भन्दा सस्तोगरी दिने गर्छु।’
विष्टले उत्पादन गरेको स्ट्रबेरी जिल्लाको मुख्य बजार बनेपालगायत धुलिखेल, पाँचखाल र पनौती तथा काठमाडौं, पोखरा तथा चितवनसम्म जाने गरेको छ।