काठमाडौं। उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले अहिले सहकारीप्रति नकारात्मक धारणा रहेकाले सहकारीले आफूलाई राम्रो प्रमाणित गर्नुपर्ने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित जनपयोगी बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले तीनखम्बे अर्थनीति अन्तर्गत रहेको सहकारीप्रति नागरिकमा नकारात्मक भाव रहेको भन्दै यस्तो बताएका हुन्। उनले सहकारीको सिद्धान्त र मर्मविपरित जाँदा सहकारीमा समस्या देखिएको पनि बताए।
‘यस्तो संकटको समय खासगरी नेपालको अर्थतन्त्रको तीनखम्बे अर्थनीतिमा सहकारीको ठूलो योगदान रहनुपर्ने भएकाले पनि अहिलेको अवस्थालाई चिर्दै सहकारी राम्रो हो भन्ने कुरालाई आफ्नो गतिविधिबाट देखाउन सक्नुपर्छ,’ सिंहले भने, ‘सहकारीको सिद्धान्त र मर्मविपरित गएको कारणले गर्दा धेरैले जीवनमै डिस्टर्भेन्स हुने गरी आफैंलाई दबाब हुने अवस्था भोगिरहनुपरेको छ।’
उनले राजनीतिक स्थायित्व, स्थिरताको महत्व बुझाउन वर्तमान सरकार बनेको बताए। राजनीतिक स्थिरताका लागि वर्तमान सरकार बनेको भन्दै भएका कमी–कमजोरी पहिचान गर्दै सुधार गर्नेतर्फ सरकार अघि बढेको जानकारी दिए।
‘जनताले सरकारको आयुको त ठेगान छैन, सरकार बनेको केही महिनामा नै अर्को सरकार बन्छ, सरकारको नै सुनिश्चितता छैन भने त्यस्तो सरकारले हाम्रो लागि के काम गर्छ भनेर सोच्न थालेको हुनाले राजनीतिक स्थायित्व, स्थिरता र सरकारको महत्व बुझाउन वर्तमान सरकार बनेको हो। कमी–कमजोरीलाई पहिचान गर्दै सुधार गर्दै अघि बढ्नेतर्फ सरकार गइरहेको छ,’ उपप्रधानमन्त्री सिंहले भने।
सरकाररले जीवनयापन गर्न सहज वातावरण सिर्जना हुनुपर्छ भन्ने हरेक नेपालीको चाहना रहेको भन्दै त्यसलाई पूरा गर्न लागिरहेको उनको भनाइ छ। सिंहले अधिकारसँगै कर्तव्यप्रति पनि सचेत हुनुपर्नेमा जोड दिए। शिक्षामा विभिन्न तहमा राम्रो गरेका सहकारी सदस्यका सन्तानलाई सम्मान पनि गरिएको थियो।
कार्यक्रममा पूर्वअर्थमन्त्री शंकर कोइराला, प्रदेश सांसद दीपेन्द्र श्रेष्ठलगायत सहभागी थिए।