काठमाडौं। राष्ट्रपति डोनाल्ड ट्रम्पको निमन्त्रणमा अमेरिका पुगेका युक्रेनी समकक्षी भ्लाेदाेमिर जेलेन्स्की आक्रमणकारी भ्लादमिर पुटिनको पक्षमा लिएकामा अमेरिकासँग रिसाएका छन्।
ओभल अफिसमा राष्ट्रपति ट्रम्प, समकक्षी जेलेन्स्की र उपराष्ट्रपति जेडी भान्सबीच पत्रकार सम्मेलनमा भनाभन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्।
जेलेन्स्की र ट्रम्पबीच ह्वाइट हाउसमा भनाभन भएपछि खनिज सम्झौताको भविष्य के हुने भनेर अड्कलबाजी लगाइन थालेको हो।
रुस–युक्रेन युद्ध र अहिले युद्ध रोक्ने भनेर साउदी अरबमा भइरहेको छलफलको विषयमा विवाद भएको थियो।
उपराष्ट्रपति भान्सले युक्रेन युद्धको अन्त्य गर्न राष्ट्रपति ट्रम्पले कूटनीतिक माध्यमबाट पहल गरिरहेको दाबी गरे। त्यसपछि जेलेन्स्कीले भान्सलाई रोकेर आफ्नो कुरा राख्न अनुमति मागे। जेलेन्स्कीले २०२२ अघि पनि रुसले युक्रेनी भूभागमा आक्रमण गरिरहेको र त्यो बेला ट्रम्प राष्ट्रपति हुँदा पनि पहल नगरेको गुनासो गरे।
आक्रमणकारी पुटिनले पूर्वी युक्रेन, क्राइमियालगायत भूभागमा युक्रेनीलाई मारेर कब्जामा राष्ट्रपति जेलेन्सीकले बताए। ‘त्यतिबेला कसैले पनि युद्ध रोक्न पहल नगरेको उनको भनाइ थियो। बाइडेनले मात्रै होइन, बाराक ओबामा र ट्रम्प स्वयंले पनि,’ उनले भने।
ट्रम्पले भने, ‘त्यतिबेला म थिइनँ।’
त्यसपछि फेरि जेलेन्स्की बोले।
आफू राष्ट्रपति बनेपछि रुससँग युद्धविराम गरेको तर पुटिनले युद्धविराम उल्लंघन गर्दै युक्रेनमा आक्रमण गरेको उनको दाबी थियो।
‘युद्धविराम उल्लंघन गर्ने र युक्रेनी भूभाग धमाधम गरियो। अनि तपाईं कस्तो खालको कुटनीतिको कुरा गर्दै हुनुहुन्छ जेडी,’ जेलेन्स्कीले सोधे।
‘म तपाईंको देशको विनाशलाई अन्त्य गर्ने किसिमको कूटनीतिबारे कुरा गर्दैछु,’ उपराष्ट्रपति भान्सले जवाफ फर्काए। अमेरिकी मिडियाकै अगाडि जेलेन्स्कीले आफूहरूको अनादर गरेको पनि भान्सले बताए।
राष्ट्रपति जेलेन्स्कीले त्यसपछि भान्सलाई युक्रेनमा पुटिनबाट भएको बर्बर आक्रमण हेर्न जानुभएको छ? प्रश्न गरे। ‘दुईपटक गए पनि त्यहाँको अवस्था नियालिरहेको छु,’ भान्सले भने।
जेलेन्स्कीले समस्याविहीन कोही देश नहुने बताउनासाथ रिसाएका ट्रम्पले हामी समस्याको समाधान गर्ने प्रयत्न गर्दैछौं। तपाईं बोल्ने पोजिसनमा हुनुहुन्न भने। ट्रम्पले जेलेन्स्कीलाएै युद्धलाई कार्ड बनाएको, तेस्रो विश्व युद्धलाई निम्त्याउन खोजेको आरोप लगाए।जेलेन्स्कीले ट्रम्पको उक्त अभिव्यक्ति अस्वीकार गरे।
यसअघि जेलेन्स्की र युक्रेनी सेना एवं जनता महान् भएको बताएका ट्रम्पले एकाएक आवेगमा आएर वार्तालाई असहज बनाएको बताइन्छ। जेलेन्स्कीले पुटिनबाट युक्रेनमा भएका बर्बर दमनका फोटा राष्ट्रपति ट्रम्पलाई दिएका थिए।
दुवै नेताबीच भनाभन भएर वातावरण असहज बनेसँगै जेलेन्स्कीलाई ह्वाइटहाउस छाड्न भनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।–एजेन्सी