काठमाडौं। नेपाली बजारमा फागुनामा मात्रै नेपाली अटो बजारमा तीन ईभी ब्रान्डको प्रवेश भएको छ। नेपालमा यसअघि नै स्थापित टाटा, एमजी र प्रोटोनले फागुनमै आफ्नो नयाँ गाडी भित्र्यायो। नेपाली बजारमा एउटै समयमा नाम चलेका ब्रान्डले एकैपटक यसरी गाडी कम नै भित्र्याउने गर्दछन्।
तर, फागुनमा तीन ब्रान्डले एकैपटक आफ्ना गाडी भित्र्याएका हुन्। यसले एकातर्फ बजारमा ईभीप्रतिको क्रेज थप बढेको देखाउँछ भने अर्कोतर्फ रोचक प्रतिस्पर्धा चल्ने निश्चित छ। तर, एकसाथ नेपाल भित्रिएका यी तीन ब्रान्डमध्येमा कुन ग्राहक रोजाइमा पर्छ भन्ने विषय मुख्य देखिन्छ। नेपाल भित्रिएका यी तीन ब्रान्ड एउटै सेग्मेन्टमा आएकाले कडा प्रतिस्पर्धा हुने देखिन्छ।
नेपाल भित्रिएका तीन ईभी ब्रान्डमा टाटाको कर्भ ईभी औपचारिक रुपमा सार्वजनिक भइसकेको छ भने एमजी एस५ र प्रोटोन इमास–७ भने औपचारिक रुपमा सार्वजनिक हुन बाँकी छ। नेपाल आएका यी तीन ब्रान्डका गाडीको मूल्य, ब्याट्री तथा मोटर पावर र रेन्ज भने लगभग मिल्दो जुल्दो छ। मूल्य र रेन्जका कारण पनि यी ईभी एक आपसमा प्रतिस्पर्धीको रुपमा देखिएका छन्।
टाटा कर्भ ईभी
टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटा कर्भ ईभी सार्वजनिक गरिसकेको छ। कम्पनीले नयाँ मोडलको रुपमा कर्भ ईभी ल्याएको हो। सिप्रदीले कर्भ ईभीको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकेको छ।
टाटा कर्भ ईभीमा ५५ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ। भने यसमा ९८ किलोवाटको मोटर जडान गरिएको छ। यसले ५०२ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ। यसको ग्राउन्ड क्लियरेन्स १९० एमएम छ।
यसमा १२.३ इन्चको इन्फोटेनमेन्ट सिस्टम र १०.२५ इन्चको ड्राइभर डिस्प्ले छ। सुरक्षा फिचर्समा एन्टिलक ब्रेकिङ सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल छ भने अधिकतम गति १६० प्रतिकिलोमिटर छ। यसको बुट स्पेस ५०० लिटरको छ। कम्पनीले टाटा कर्भ ईभीको ब्याट्रीमा ८ वर्ष तथा १ लाख ६० हजार किलोमिटर वारेन्टी दिइएको छ।
एमजी एस–५
नेपालको लागि एमजी गाडीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले एमजी एस–५ नेपाली बजारमा ल्याइसकेको छ। कम्पनीले एमजी एस–५ नेपाली बजारमा भित्र्याइसके पनि औपचारिक रुपमा सार्वजनिक भने गरेको छैन।
कम्पनीले भन्सार प्रयोजनको लागि यसको अधिकतम खु्द्रा मूल्य कम्फर्ट भेरियन्टको ४६ लाख ९९ हजार र लक्जरी भेरियन्टको ५२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
एमजी एस–५ दुई ब्याट्री अप्सनमा नेपाल आएको छ। एस–५ मा ४९.९ किलोवाट र ६२ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ। ४९.१ किलोवाट आवरको ब्याट्री प्याकले ४३५ किलोमिटर र ६२.२ किलोवाट आवरको ब्याट्रीले ५२५ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ।
एमजीको एस–५ को लम्बाई ४४७६ एमएम, चौडाइ १८४९ एमएम र उचाई १६२१ एमएम छ। यसमा २७३० एमएम लामो ह्वील वेस पाउन सकिन्छ। एसएआइसीको नेबुला प्लेटफर्ममा बनेको एस–५ एसयूभी सेग्मेन्टमै पहिलो रियर ह्वील ड्राइभ मोटरमा उपलब्ध हुने मोडल हो।
रियर ह्वीलमा मोटर हुनुको साथै फाइभ लिंक इन्डिपेन्डेन्ट सस्पेन्स र एड्भान्स ड्राइभर असिस्ट सिस्टम भएको कारण यसको ड्राइभिङ डाइनामिक्स उत्कृष्ट हुने कम्पनीको दाबी छ। यसमा दिएको क्लोजअफ फ्रन्ट ग्रील, वाइड प्लास्टीक ह्वील आर्क तथा कर्भ बनेट लाइनले गाडीलाई बल्की देखाएको छ।
एमजीले एस–५ को क्याविनमा मिनिमलिस्टिक डिजाइन अप्रोच राखेको छ। यसको ड्यासबोर्डको बीचमा १५.६ इञ्चको फ्लोटिङ टचस्कृन रहेको छ। जहाँ ड्राइभर इन्फर्मेसनको लागि छुट्टै १०.२५ इन्चको एलसीडी इन्ट्रुमेन्ट क्लस्टर पाउन सकिन्छ।
यसमा थ्री स्पोक फ्ल्याट बटम स्टेरिङ ह्विल छ। स्टेरिङ कोलुममै रहेको गियर सिफ्टरले चालकलाई एकदमै सजिलो बनाएको छ। सेन्टर कन्सोलमा वायरलेस चार्जिङ प्याड र दुई वटा कप होल्डर रहेको छ।
प्रोटोन इमास–७
जगदम्बा मोटर्सले प्रोटोन इमास–७ नेपाली बजार ल्याइसकेको छ। कम्पनीले आगामी मार्च २१ बाट गाडीको बिक्री सुरु गर्ने जनाएको छ। इमास–७ प्राइम र प्रिमियम गरी दुई भेरियन्ट उपलब्ध हुने बताएको छ।
इमास–७ प्राइममा ४९.५२ किलोवाट आवरको एलएफपी ब्याट्री छ। यसको प्रिमियम भेरियन्टमा ६०.२२ किलोवाट आवरको ब्याट्री दिइएको छ।
इमास–७ प्राइम भेरियन्टले ३४५ र प्रिमियम भेरियन्टले ४१० किलोमिटरको रेन्ज दिने डब्लुएलटीपीले प्रमाणित गरको छ। जगदम्बा मोटर्सले इमास–७ प्राइम भेरियन्टको मूल्य ५६ लाख ९९ हजार र प्रिमियम भेरियन्टको मूल्य ६७ लाख ९९ हजार रुपैयाँ तोकेको छ।
प्रोटोनको लम्बाइ ४६१५ एमएम, चौडाइ १९०१ एमएम र उचाइ १६७० एमएम छ भने यसको ह्ीलवेस २७५० एमएम छ। इमास–७ को ग्राउन्ड क्लियरेन्स १७३ एमएम रहेको छ। इमास–७ को इन्टेरियरमा १०.२ इन्चको डिजिटल इन्स्टु«मेन्ट डिस्प्ले, १५.४ इन्चको इन्फोटेन्मेन्ट टच स्क्रिन, सराउन्ड साउन्ड सिस्टम दिइएको छ।