काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीबीच आज ह्वाइटहाउसमा भेटवार्ता हुँदै छ ।
यो भेटवार्ता युक्रेनको खनिज अमेरिकाले प्रयोग गर्न पाउने विषयमा केन्द्रित हुने छ । यसअघि अमेरिका र युक्रेनबीच खनिजसँग सम्बन्धी सहमति भएको थियो । सोही विषयमा आज भेटवार्ता हुनुअघि अमेरिकी राष्ट्रपति ट्रम्पले जेलेन्स्कीको प्रशंसा गरेका छन् । यसअघि जेलेन्स्कीलाई ‘तानाशाह’ भनेका ट्रम्पले आज भने ‘मैले त्यस्तो भनेँ र ? मलाई विश्वास नै छैन’ भनेर अभिव्यक्ति दिएका छन्।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीको पाँच वर्षे कार्यकाल गत मे महिनामा सकिएको थियो । तर रुससँग जारी युद्धका कारण चुनाव हुन सकेन । अहिले ‘मार्शल ल’ मार्फत् सरकार सञ्चालन भइरहेको छ । त्यसैले जेलेन्स्कीलाई ‘तानाशाह’को संज्ञा दिएका ट्रम्पले अहिले आफ्नो बयान फेर्दै जेलेन्स्कीको प्रशंसा समेत गरेका छन् ।
बीबीसीका अनुसार जेलेन्स्कीको प्रशंसा गर्दै ट्रम्पले भनेका छन्, ‘मलाई लाग्छ हामीबीच निकै राम्रो कुराकानी हुनेवाला छ । हामी मिलीजुली काम गर्ने छौं । हामी एकअर्कालाई निकै सम्मान गर्छौं । ममा उनीप्रति धेरै सम्मान छ । हामीले उनलाई धेरै उपकरण र पैसा दिएका छौं । उनले धेरै बहादुरीपूर्वक लडेका छन् ।’
रुस र युक्रेन बीचको हालको युद्ध सन् २०२२ फेब्रुअरी २४ देखि जारी छ । रुसले आक्रमण सुरु गरेपछि युक्रेनले पनि जवाफ फर्काएको थियो ।
रुस र युक्रेनको द्वन्द्वको जरो सन् २०१४ मा पुग्छ । त्यतिबेला क्रिमिया क्षेत्रलाई रुसले आफ्नो नियन्त्रणमा लिएपछि तनाव सुरु भएको थियो । त्यसपछि युक्रेनको पूर्वी क्षेत्र (डोनेत्स्क र लुहान्स्क) मा रुस समर्थित विद्रोहीहरू सक्रिय भएपछि लडाइँ सुरु भएको थियो । यो युद्धले ठूलो अन्तर्राष्ट्रिय प्रभाव पारेको छ, जसले विश्व अर्थतन्त्र, ऊर्जा संकट र सुरक्षा मामिलामा ठूलो असर पुर्याएको छ । अहिले ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्य गर्न पहल थालेका छन् ।
ओभल अफिसमा बेलायतका प्रधानमन्त्री किर स्टार्मरसँग भेटवार्ता भएपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले स्थानीय समय अनुसार शुक्रबार बिहान ११ बजे ह्वाइटहाउसमा युक्रेनका राष्ट्रपति जेलेन्स्कीसँग भेटवार्ता हुने जानकारी दिए । भेटवार्तापछि अमेरिकालाई युक्रेनका महत्वपूर्ण खनिज आपूर्तिका लागि पहुँच दिने सम्बन्धी दस्तावेजमा दुई देशका प्रतिनिधिहरुबीच हस्ताक्षर हुने कार्यक्रम छ ।