म्याग्दी। बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा एमालेबाट निर्वाचित जिल्ला समन्वय समिति प्रमुख राजकुमार थापासहित २५ जनाविरुद्ध १ अर्ब १३ करोड बिगो दाबी गर्दै जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको छ।
सहकारी रजिस्ट्रारको कार्यालय पोखराको सिफारिसमा जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धानपछि उनिहरूविरुद्ध बिहीबार म्याग्दी जिल्ला अदालतमा सरकारी वकिल कार्यालयले माग दाबीसहितको अभियोगपत्र दर्ता गरेको हो।
संगठित रूपमा सहकारीमा निक्षेप रहेको सेयर तथा बचत रकम, संस्थाको सम्पत्ति र बाह्य ऋणबापतको रकम, सरकारको राजस्वसमेत हानिनोक्सानी पुर्याएकाले सहकारी ऐन, २०७४ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ बमोजिम थप अनुसन्धान र कारबाही गर्न माग गरिएको छ।
जिल्ला अदालतका सूचना अधिकारी डिल्लीराम पौडेलले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम दर्ता भएको अभियोगपत्रका विषयमा आगामी आइतबारदेखि थुनछेक बहस सुरु हुने जानकारी दिए।
सहकारीका वर्तमान र पूर्वसञ्चालक समितिका पदाधिकारी, सदस्य, लेखा र ऋण समिति संयोजक तथा सदस्यलाई विपक्षी बनाइएको छ। २०८१ माघ २० गते पक्राउ परेका पाँच र फागुन ७ गते पक्राउ परेका एक जना प्रहरीको हिरासतमा र १९ जना फरार छन्।
अनुसन्धान प्रभावित हुने भन्दै प्रहरी, वकिल कार्यालय र अदालतले पक्राउ नपरेका आरोपितको नाम सार्वजनिक गरेका छैनन्। बेनी नगरपालिका–१ का थापा कुमारी सहकारीका पूर्वसचिव, उपाध्यक्ष र ऋण समितिका पदाधिकारी हुन्।
२०७९ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित थापा उक्त पार्टीको पूर्वजिल्ला उपसचिवको जिम्मेवारीमा थिए। थापाले सहकारीको १७ करोड ५८ लाख ६३ हजार चार सय २६ हिनामिना गरेको अनुसन्धानबाट पुष्टि भएको छ।
उक्त सहकारीका पूर्वप्रबन्धक जलजला गाउँपालिका–३ पर्वत बेनीका रुद्र गुरूङले १३ करोड ५९ लाख ४८ हजार ६०९ रुपैयाँ अपचलन गरेका अनुसन्धानबाट खुलेको छ।
अनुसन्धान प्रतिवेदनअनुसार सहकारीका सचिव, पूर्वसहसचिव र लेखा समिति सदस्य बेनी नगरपालिका–१ की देवीकुमारी थापाले तीन करोड ७१ लाख चार हजार ६३१ र पूर्वअध्यक्ष रघुगंगा गाउँपालिका–५ का मनप्रसाद थकालीले ५ करोड ८२ लाख ६६ हजार सात रुपैयाँ हिनामिना गरेका छन्।
पूर्वकोषाध्यक्ष, पूर्वअध्यक्ष, पूर्वऋण समिति सदस्य अन्नपूर्ण गाउँपालिका–७ का थमबहादुर गर्बुजाविरुद्ध ४ करोड ५५ लाख ९४ हजार दुई सय २७ र लेखासमितिका पूर्वसदस्य बेनी नगरपालिका–४ का लोकबहादुर पुन (लोकेश)ले २ करोड १० लाख ४६ हजार ४४ हिनामिना गरेका छन्।
फरार रहेकाहरूले पनि कम्तीमा ५२ लाख ९३ हजारदेखि ७ करोड ४४ लाख दुरुपयोग गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।
प्रहरीले सहकारी रजिष्ट्रारको कार्यालयले गरेको छानबिन प्रतिवेदन, पक्राउ परेकाहरूसँग सोधपुछ, कागजात तथा प्रमाणको अध्ययन र पीडित बचतकर्ताको उजुरीका आधारमा अनुसन्धान गरेको हो।
सहकारी ठगी गरेको रकमले निजी सम्पत्ति खरिद गरी एकीकृत गर्ने, निजी कम्पनीमा रकम निकासा गराउने, सहकारीको रकमलाई गैरकानुनी रूपमा ढुकुटीका कारोबारमा प्रयोग गर्ने, प्रचलित कानुनबमोजिम सहकारी ऐन तथा कर्जा प्रक्रियाको मापदण्ड नै पूरा नगरी सहकारीको पुँजी कोषको १० प्रतिशतभन्दा अधिक मात्रामा कर्जा प्रवाह गरेकाे अनुसन्धानमा देखिएकाे छ।
यस्तै, कर्जा प्रवाह गर्दाका बखतमा पर्याप्त मात्रामा कर्जा विष्लेषण तथा सुरक्षण नलिई कर्जा प्रवाह गराउने, पेस्कीका नाममा रकम हिनामिना मिलान गर्ने, ऋण देखाई रकम हिनामिना गराउने, चार हजारभन्दा बढी सदस्यको कारोबार गराई सीमित व्यक्तिलाई सेयर सदस्य प्रदान गरी सहकारीको रकमबाट लाभ लिन जीवन बिमा गराई हिनामिना गर्ने, आफूहरूले लिएको ऋणको दायित्व भुक्तान नगरी आम्दानी हिनामिना गराउनेलगायत कार्य गरेको आरोप अभियोगपत्रमा छ।–रासस