काठमाडौं। विजय लघुवित्त वित्तीय संस्थाको सहयोगमा आफ्ना ग्राहक सदस्यलाई लक्षित गर्दै सिरहाको धनगढीमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। विभिन्न प्रकारका क्यान्सर रोगको प्रारम्भिक पहिचान गर्ने तथा रोकथाम गर्न नागरिक सचेत गराउने उद्देश्यका साथ तीन दिने स्वास्थ्य शिविर आयोजना गरिएको हो।
मूलतः महिलाको पाठेघरको क्यान्सरको प्रारम्भिर परीक्षण गर्ने उद्देश्यले आयोजना गरिएको शिविरमा नाक, कान, घाटीसहित स्त्री रोगसम्बन्धी सेवा समेत उपलब्ध गराइँदै छ।
फागुन १५ देखि १७ गते ३ दिनसम्म चल्ने स्वास्थ्य शिविरको बिहीबार उद्घाटन भएको छ। उद्घाटनकै दिन करिब दुई सय स्थानीय महिलाले स्वास्थ्य जाँच गराएका छन्। स्वास्थ्य शिविर उद्घाटन गर्दै धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतोले आफ्नो क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरेर महत्वपूर्ण सहयोग गरेको भन्दै विजय लघुवित्तलाई धन्यवाद दिए।
वित्तीय संस्थाहरुले यस्ता कार्यक्रम आयोजना गर्नु आफैमा सुखद पक्ष रहेको भन्दै उनले आफ्नो पालिकाका धेरै महिला दिदीबहिनीले शिविरबाट लाभ लिनेमा विस्वस्त रहेको बताए।
उद्घाटन समारोहमा बोल्दै विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत बसन्तराज लम्सालले संस्थाले वित्तीय सेवामात्रै नभएर समय समयमा सामाजिक कार्यसमेत गर्दै आएको भन्दै विगतमा पनि आफूहरुले यस्ता स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै आएको बताए।
कार्यक्रममा विशेषज्ञ चिकित्सक डा. विवेक कँडेल र अयोध्या पाठकले शिविरमा उपलब्ध हुने प्राविधिक पक्षबारे जानकारी गराएका थिए। स्वास्थ्य शिविर सञ्चालनका लागि विजय लघुवित्तले वीपी कोइराला मेमोरियल क्यानसर अस्पताल भरतपुर र धनगढीमाई पालिकाबीच समन्वय गरी आर्थिक सहयोग जुटाएको थियो।
नगरपालिकाले आयोजना गरेको स्वास्थ्य शिविरका लागि वीपी कोइराला मेमोरियल क्यानसर अस्पताल भरतपुरले प्राविधिक सहयोग उपलब्ध गराएको हो।