काठमाडौं। नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति समीक्षाको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको छ। मौद्रिक नीति सार्वजनिक पछिको पहिलो कारोबार दिन बिहीबार सेयर बजारका सबै सेक्टर सकारात्मक रहँदा बैंकिङ समूहमा सबैभन्दा बढी आकर्षण देखिएको छ।
बिहीबार बैंकिङ समूहको सेयर मूल्य सर्वाधिक अर्थात् ३.३२ प्रतिशतले बढेको छ। उत्पादन समूहको सेयर मूल्य २.१९ प्रतिशत, विकास बैंक समूहको १.५३ प्रतिशत, फाइनान्स समूहको ०.२८ प्रतिशत, होटल तथा पर्यटन समूहको १.१२ प्रतिशत र जलविद्युत् समूहको सेयर मूल्य १.८० प्रतिशतले बढेको छ।
लगानी समूहमा १.२५ प्रतिशत, जीवन बिमा समूहमा ०.८१ प्रतिशत, लघुवित्त समूहमा ०.९१ प्रतिशत, निर्जीवन बिमा समूहमा ०.७० प्रतिशत र व्यापार समूहमा १.२० प्रतिशतको सुधार आएको छ।
मंगलबार नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको थियो। मौद्रिक नीति समीक्षाले असल कर्जाको प्रोभिजन दर १.१० प्रतिशतबाट १ प्रतिशतमा झारेको छ। जसले प्रोभिजन राख्नुपर्ने रकम कम भएपछि बैंक तथा वित्तीय संस्थाहरुको नाफा बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यसबाट बैंक तथा वित्तीय संस्थाको आम्दानी तथा नाफा बढ्न जाने र सेयरधनीले पाउने लाभांश अनुपातसमेत वृद्धि हुने आँकलनहरु भइरहेका छन्। जसले गर्दा बैंकिङ समूहमा लगानीकर्ताको आकर्षण देखिएको हो।
साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४९.१५ अंक अर्थात् १.७७ प्रतिशतले बढेर २८१५.०४ बिन्दुमा पुगेको छ। हुन त, गत साताको आइतबारदेखि नै सेयर बजार लगातार उकालो लागि रहेको छ।
बुधबार नेप्से बन्द थियो भने मंगलबार ७.१३ अंकले बढेर २७६५.८८ बिन्दुमा पुगेको थियो। त्यसअघि सोमबार नेप्से ३.३५ अंकले, आइतबार ११.६६ अंक, गत साताको बिहीबार ३.१४अंक, मंगलबार १२.६८ अंक, सोमबार २९.८७ अंक र आइतबार १९.५६ अंकले बढेको थियो।
बिहीबार नेप्सेमा कुल ११ अर्ब ३९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन मंगलबार भने कुल ९ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
सोमबार नेप्सेमा कुल ११ अर्ब ८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो भने आइतबार कुल ११ अर्ब ५४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
आज कारोबारमा आएकामध्ये १८६ कम्पनीको सेयर मूल्य बढ्दा ५२ कम्पनीको घटेको छ। यस्तै, ६ कम्पनीको सेयर मूल्य भने स्थिर छ।
बिहीबार गार्डिएन माइक्रोलाइफ इन्स्योरेन्स, उपर हेवाखोला हाइड्रोपावर, सिन्धु विकास बैंक, दोर्दी खोला जलविद्युत् कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा दुई कम्पनीको सेयर मूल्य नौ प्रतिशत बढीले उकालो लागेको छ।