काठमाडौं। सत्तारुढ नेकपा एमाले आम्दानीको हिसाबमा सबैभन्दा धनी दल देखिएको निर्वाचन आयोगलाई बुझाएको सम्पत्ति विवरणमा उल्लेख छ।
एमालेले गत आर्थिक वर्ष २०८०/८१ मा १४ करोड ७९ लाख ५ हजार ८०९ रुपैयाँ आम्दानी गरेको छ। राजनीतिक दलहरुले आयोगमा बुझाएको आर्थिक वर्ष २०८०/८१ को आम्दानी र खर्च विवरणमा एमाले सबैभन्दा धनी देखिएको हो।
आयोगका अनुसार यस अवधिमा एमालेले ७ करोड ८५ लाख ३८ हजार ३ रुपैयाँ खर्च गरेको छ भने ६ करोड ९३ लाख ६७ हजार ८०६ रुपैयाँ बचतमा छ।
मुख्य आम्दानीको स्रोत पार्टी सदस्यता शुल्क भएको एमाले दाबी छ। एमालेले यो शीर्षकमा आर्थिक वर्ष २०८०÷८१ मा कार्यकर्ताबाट ११ करोड ५४ लाख ३० हजार ४३७ रुपैयाँ संकलन गरेको छ।

यस्तै, दोस्रो धनीमा नेपाली कांग्रेस, तेस्रोमा नेकपा माओवादी केन्द्र, चौथोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एकीकृत समाजवादी पार्टी रहेका छन्। यद्यपि आयोगमा बुझाएको विवरणमा एमालेबाहेकका पार्टी नोक्सानीमा छन्।
प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल कांग्रेसले आर्थिक वर्ष २०८०÷८१ मा २ करोड ५९ लाख आठ हजार ७७५ आम्दानी गरेको विवरण आयोगमा बुझाएको छ। तर, खर्च ४ करोड ९१ लाख ५६ हजार ३७५ गरेको छ ।
यसरी हेर्दा कांग्रेस २ करोड ३२ लाख ४७ हजार ६०० रुपैयाँ घाटामा छ। कांग्रेसले अघिल्लो वर्ष २०७९÷८० पनि घाटामा रहेको विवरण आयोगमा पेस गरेको थियो।
कांग्रेसको आम्दानीको प्रमुख स्रोत चन्दा हो। चन्दाबाट मात्रै उसले १ करोड ७३ लाख ९४ हजार ४३९ रुपैयाँ संकलन गरेको थियो । सदस्यता, लेबी र नवीकरण शुल्कबाट भने ७१ लाख आम्दानी गरेको थियो।
यस्तै, नेकपा माओवादी केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा १ करोड ८६ लाख ५३ हजार १४६ रुपैयाँ आम्दानी गरेको छ । उसको आम्दानीभन्दा खर्च २ हजार ४४४ रुपैयाँ बढी छ।
यस्तै, आम्दानीभन्दा झन्डै दोब्बर घाटामा रहेको विवरण रास्वपाले आयोगमा बुझाएको छ । रास्वपाले २०८०÷८१ मा ३ करोड ७९ लाख ५९ हजार ४८७ रुपैयाँ कमाएको छ भने ६ करोड ५० लाख १७ हजार ७८ रुपैयाँ घाटामा छ।
यस्तै, नेकपा एसले पनि आम्दानीभन्दा खर्च बढी गरेको छ। आयोगमा बुझाएको विवरण हेर्दा एकीकृत समाजवादीले गत आर्थिक वर्षमा ४ करोड २४ लाख ५३ हजार ६९१ रुपैयाँ आम्दानी गरेको छ। उसको खर्च ४ करोड ५७ लाख ४० हजार ८५४ रुपैयाँ छ।
नेकपा एसले ३२ लाख ८७ हजार १६३ रुपैयाँ घाटामा रहेको विवरण आयोगमा पेस गरेको छ। जनमत पार्टीले आर्थिक वर्ष आर्थिक वर्ष २०८०/८१ मा १ करोड १८ लाख ८१ हजार ९४३ रुपैयाँ आम्दानी गरेको छ भने खर्च १ करोड १९ लाख ११ हजार ३३३ रुपैयाँ छ। जनमत पार्टी २९ हजार ३९० रुपैयाँ घाटामा गएको छ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा राजनीतिक दलहरुले आयव्ययको लेखा परीक्षण गर्नुपर्ने र परीक्षणको एक महिनाभित्र निर्वाचन आयोगमा प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था छ।
गत माघभित्र ८८ राजनीतिक दलले आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण प्रतिवेदन आयोगमा बुझाएका छन्। अहिले आयोगमा ११५ दल दर्ता छन्।