काठमाडौं। महाशिवरात्रिको अवसर पारेर चलचित्र ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ। रंगकर्मी किशोर अनुरागसहितको निर्माणमा बन्ने चलचित्रको निर्देशन हिस्टोरिकल ब्लकबस्टर ‘पूर्ण बहादुरको सारंगी’ निर्देशन गरेका सरोज पौडेलले गर्दै छन्।
चलचित्रलाई किशोर अनुराग र प्रेविल कँडेलले निर्माण गर्ने छन्। कार्यकारी निर्मातामा दिनेश खड्का छन्। निर्देशक, निर्माता, कलाकार र प्राविधिकको उपस्थितिमा च्यासलस्थित सेटमा मुहूर्त सटसँगै चलचित्रको छायांकन सुरु भएको निर्माता अनुरागले बताए।
करिब १ हप्ता काठमाडौंमा छायांकन गरेपछि निर्माण युनिट बाँकी सुटिङका लागि स्याङ्जा जाने छ। चलचित्रमा सुरक्षा पन्त, आर्यन सिग्देल, सरोज खनाल, विशाल पहाडी, शेखर चापागाईं, सिरु विष्ट, उद्धव सापकोटा, सन्ध्या राना, सविता रेग्मी, सविन कट्टेल, विकास खनाललगायतले अभिनय गर्ने निर्देशक पौडेलले बताए। चलचित्रमा निर्माता अनुरागले क्रिएटिभ डाइरेक्टरको भूमिकासमेत निर्वाह गर्ने छन्।
महिला प्रधान रहने यस चलचित्रमा सुरक्षा पन्तको मुख्य भूमिका रहने छ। नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा बाबु श्रेष्ठको डिओपी, सुरेन्द्र पौडेलको सम्पादन रहने छ। रिदम कँडेल र आशिष अविरलको संगीत रहने चलचित्रमा कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा रहने छन्। निर्माण पक्षका अनुसार यो चलचित्र २०८२ मा रिलिज हुनेछ।