काठमाडौं। महिना दिनअघि अमेरिकी राष्ट्रपतिको शपथ लिएका डोनाल्ड ट्रम्पले विश्व राजनीतिलाई तरंगित बनाइरहेका छन्।साँधसीमादेखि विश्वभरका व्यापारिक साझेदार मुलुकमाथि कर घोषणा गरेर चिढ्याइरहेका छन्।
ट्रम्पको राजनीति यतिमा मात्रै सीमित छैन, कम्युनिस्ट विचारधारालाई अँगालेर र चुनावमा विपक्षीलाई जेल कोचेर तीन कार्यकालसम्म निर्वाध राष्ट्रपति बनिरहेका रुसी समकक्षी भ्लादमिर पुटिनसँग हिमचिमसमेत बढाएका छन्।
साता दिनअघि साउदीमा रुसी र अमेरिकी अधिकारीबीच छलफल भएको छ। तीन वर्षअघि छिमेकी युक्रेनमा आक्रमण गरेपछि मस्को र अमेरिकामा रहेका बन्द अमेरिकी र रुसी दूतावासका ढोका खोल्नेसमेत सहमति भएको छ।
अझ फागुन १३ मा संयुक्त राष्ट्रसंघमा पेस गरिएको युक्रेनबाट अतिक्रमणकारी सेना फिर्ता हुनुपर्ने प्रस्तावविरुद्ध रुसलाई साथ दिएर ट्रम्पले विश्व शासन व्यवस्थाका क्रुर मानिने तानाशाही मुलुक इरान, उत्तर कोरियाका पक्षमा आफूलाई उभ्याएका छन्।
अमेरिकी राष्ट्रपतिले पूर्ववर्ती जे वाइडेनले रुसको आक्रमणपछि युक्रेनलाई दिइएको आर्थिक, सैनिक सहायताको ठूलो अंश क्षतिपूर्ति माग गर्दै राष्ट्रपति भ्लोदोमिर जेलेन्सकीलाई खनिज सम्पदामा पहुँच दिन मनाएका समाचार सार्वजनिक भएका छन्।
युक्रेनको सुरक्षा ग्यारेन्टी लिने सर्तमा ट्रम्पले पूर्वराष्ट्रपति बाइडेन प्रशासनको पालामा युक्रेनलाई ३०० देखि ५०० अर्ब डलर सहायता दिइसकेकाले त्यसलाई भर्पाइ गर्न आगामी शुक्रबार युक्रेनी समकक्षीलाई अमेरिका भ्रमणमा बोलाएको र जेलेन्सी आउन सहमत भएको जानकारी दिएका छन्।
युक्रेनले खनिज खानी अमेरिकालाई दिनुपर्ने सर्तसमेत जेलेन्सिकीले मानेको दाबी ट्रम्पले गरेका छन्। ट्रम्पको ध्यान युक्रेनका दुर्लभ खनिजको ठूलो भण्डारमा छ। यी खनिज इलेक्ट्रिक कार, आधुनिक हतियार र सैन्य उपकरण बनाउन प्रयोग हुने गरेको छ।
ट्रम्पले सम्भवतः चीनलाई रोक्न दुर्लभ खनिज उत्पादन र आपूर्तिमा अमेरिकाको हिस्सेदारी बढाउन युक्रेनका खानीमाथि आँखा लगाएको राजनीतिक विश्लेषण हुँदै छ। यद्यपि यसबारे अमेरिकाले केही बोलेको छैन।
हाल विश्वमा चीन दुर्लभ खनिज उत्खनन र प्रशोधनमा सबैभन्दा ठूलो देश बनेको छ। विश्व उत्पादनको ६०–७० प्रतिशत हिस्सा चीनको नियन्त्रणमा रहेको बताइन्छ। प्रशोधन क्षमतामा पनि ९० प्रतिशत हिस्सा चीनकै छ।
अमेरिकाले चीनबाटै वर्षाैंदेखि चिनियाँ लिथियम आयान आयात गरिरहेको छ। लिथियम आयानमा चिनियाँ निर्भरता तोडेर युक्रेनमाथिको खनिजमा पहुँच पुर्याउने योजनाअनुसार राष्ट्रपति ट्रम्प अगाडि बढेको बताइन्छ।
आधुनिक प्रविधि विकासका लागि चाहिने दुर्लभ खनिज पदार्थ अमेरिकालाई अहिले प्रायः चीनले बेच्दै आएको छ। यस्तो बेला रुसलाई समदूरीमा राखेर राष्ट्रपति ट्रम्पले युक्रेनसँग खनिज सम्झौता गरी चीनसँगको लिथियम आयात घटाउने रणनीति लिएको दाबी गरिएको छ।
रुसी आक्रमण अन्त्य गर्न वार्ताको एक भागको रूपमा युक्रेनका दुर्लभ पृथ्वी खनिजमा अमेरिकाको पहुँचमा पुग्ने वार्ता सम्झौता नजिक पुगेको राष्ट्रपति ट्रम्पले बताएका छन्। सम्झौताको विवरण गोप्य राखिए पनि ट्रम्प प्रशासनले युक्रेनको दुर्लभ पृथ्वी र अन्य खनिजमा ५०० अर्ब डलरको सेयर माग गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्।
किभ स्कुल अफ इकोनोमिक्सका अनुसार युक्रेनमा दुर्लभ खनिज, प्राकृतिक ग्यास र तेलको एक सयभन्दा भण्डार छन्।
‘मैले सुनेको छु (जेलेन्स्की) शुक्रबार आउँदैछन्। यदि उनी चाहन्छन् भने मसँग मिलेर यस (खनिज सम्झौता)मा हस्ताक्षर गर्न चाहन्छन्’, अमेरिकी राष्ट्रपति ट्रम्पले मंगलबार ओभल अफिसबाट भने।
अमेरिकी मिडिया द न्युयोर्क टाइम्सका अनुसार ट्रम्पको लगातारको धम्की, दबाब र अपमानपछि किभ खनिज सम्झौताका लागि सहमत भएको हो। खनिज सम्झौताको अन्तिम मस्यौदा अमेरिकाले मंगलबार युक्रेनलाई दिएको थियो। अब उक्त सम्झौतामा पहिले अमेरिकी ट्रेजरी सेक्रेटरी (अर्थमन्त्री) स्कट बेसेन्ट र उनका युक्रेनी समकक्षीले हस्ताक्षर गर्नेछन्।
त्यसपछि यही साता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की वासिङ्टन आउने र ट्रम्पसँग द्वीपक्षीय सम्झौता गर्ने सहमति भएको अमेरिकी अधिकारीलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले जनाएको छ।
सम्झौताको मस्यौदामा युक्रेनले खनिजसँगै तेल र ग्यासलगायत प्राकृतिक स्रोतको बिक्रीबाट हुने आम्दानीको आधा हिस्सा एउटा कोषमा जम्मा गर्ने भनिएको छ। काेषमा जम्मा भएको पैसा युक्रेनकै विकासमा प्रयोग गरिने भनेर यसअघि वित्तमन्त्री स्कट बेसेन्टले बताएका थिए। तर, आर्थिक र प्रशासनिक अधिकार अमेरिकासँग हुने उनले खुलाएका छन्।
बीबीसीका अनुसार चीनको व्यापारिक रजगज रोक्न ट्रम्पले युक्रेनबाट दुर्लभ खनिज उत्पादन र आपूर्तिमा अमेरिकाको हिस्सेदारी बढाउन खोजिरहेका छन्। रेयर अर्थ मिनरल्सका लागि चीनमा अमेरिकाको निर्भरता ट्रम्प प्रशासनलाई चिन्ताको विषय हो।
यसले आर्थिक र सैन्य क्षेत्रमा चीनको तुलनामा अमेरिकी हैसियत कमजोर पार्न सक्छ। अतः चीनसँग खनिज पदार्थ आयात हिस्सा घटाउन ट्रम्प प्रशासनले युक्रेनसँग माेलमाेलाइ गरिरहेकाे दाबी गरिँदै छ।–एजेन्सी