काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदका लागि आवेदन माग गरिएको छ। नेप्सेले सीइओ पदपूर्ति गर्न आवेदन माग गरेको हो।
यसअघि रिक्त पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रयोजनका लागि तीन सदस्यीय समिति गठन गरिएको थियो। उपप्रधानमन्त्री तथा अर्थ मन्त्री स्तरीय निर्णयअनुसार अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल संयोजकत्वको सोही मन्त्रालयका सहसचिव अमृत लम्साल सदस्य र विज्ञ सदस्यमा डा.खोमराज खरेलको समिति गठन गरिएको थियो।
यसपछि सीइओ पदनका लागि आवेदन माग गरिएको हो। इच्छुकले अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन सूचना प्रविधि, वाणिज्य वा कानुन विषयमा मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउण्टेन्सी गरेको हुनुपर्ने छ।
पुँजी बजार वा वित्तीय क्षेत्र वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तीमा ७ वर्ष उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभवसहित कम्तीमा १५ वर्षको कार्य अनुभव भएका व्यक्तिले आवेदन दिन सक्ने छन्। उमेर हद ३० वर्ष उमेर पूरा भई ६५ वर्ष उमेर ननाघेको हुनुपर्ने छ।
भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचविखन, लागू औषध कारोबार, पुरातात्विक वस्तु वा संरक्षित वन्यजन्तु सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाएको व्यक्तिहरूले सीइओको लागि योग्य नहुने उल्लेख गरिएको छ।
यस्तै प्रचलित कानुन बमोजिम कालोसूचीमा समावेश भई त्यस्तो सूचीबाट फुकुवा भएको अवधि तीन वर्ष पूरा नभएका व्यक्ति सीइओको लागि अयोग्य हुने बताइएको छ। इच्छुकले फागुन १८ गतेभित्र आवेदन दिनु पर्ने छ। आवेदन दस्तुर सात हजार ५ सय रूपैयाँ लाग्ने छ।
