काठमाडौं। फागुन १३ मा संयुक्त राष्ट्रसंघमा भएको युक्रेन भूमिबाट अतिक्रमणकारी फिर्ता हुनुपर्ने प्रस्तावमा रुसको समर्थन गरेपछि विश्वलाई चकित बनाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज फेरि अर्को घोषणा गरेका छन्।
यसअघि विश्वभरका मानिसलाई लगिँदै गरेको ग्रिन कार्ड योजना बन्द गर्ने चर्चा चलिरहेका बेला ट्रम्पले ५० लाख डलरमा अमेरिकी नागरिकता किन्न सकिने गोल्ड कार्ड योजना सार्वजनिक गरेका हुन्।
यद्यपि यसलाई उनले लगानीकर्ता आकर्षित गर्न योजना भनेका छन्। योजना गोल्ड कार्डले अमेरिकाको ३५ वर्ष पुरानो लगानीकर्ता भिसालाई प्रतिस्थापन गर्ने बताइएको छ।
गोल्ड भिसा सार्वजनिक गर्दै राष्ट्रपति कार्यालय ओभलमा ट्रम्पले भने, ‘यसरी नागरिकता पाउने मानिस धनी र सफल हुनेछन्। तिनले यहाँ धेरै पैसा खर्च गर्नेछन् र कर तिर्नेछन्। उनीहरूले मानिसलाई रोजगारी दिनेछन्। यो योजना अत्यन्तै सफल हुनेछ।’
ट्रम्पले यसलाई अमेरिकी नागरिकता प्राप्त गर्ने नयाँ मार्गको रूपमा प्रस्तुत गरेका छन्।
ट्रम्पले भविष्यमा १० लाख गोल्ड कार्ड बिक्री गर्ने लक्ष्य राखिएको उल्लेख गरे।
अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकले सातामै गोल्ड कार्डले परम्परागत ईबी–५ भिसालाई प्रतिस्थापन गर्ने बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
ईबी–५ भिसा विदेशी लगानी आकर्षित गर्न पेस गरिएको थियो। १९९० मा कांग्रेसले अनुमोदन गरेको थियो। ईबी–५ भिसा अमेरिकी कम्पनीमा लगभग १ मिलियन डलर लगानी गर्ने र कम्तीमा १० जनालाई रोजगार दिनेका लागि लक्षित छ।
गोल्ड कार्ड, जुन अनिवार्य रूपमा ग्रिन कार्ड वा स्थायी कानुनी बसोबास प्रमाणपत्र हुनेछ। यो समग्र रुपमा ग्रिन कार्ड हुनेछ,’ वाणिज्य सचिव लुटकिनले भने।-एजेन्सी