काठमाडौं। महाशिवरात्रि पर्वको पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजन, साधुसन्त र दर्शनार्थीको उपस्थिति बाक्लो बनेको छ। भारतको उत्तर प्रदेश राज्यको प्रयागराजमा जारी महाकुम्भ मेलाका कारण पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजन बढ्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
महाशिवरात्रि पर्व व्यवस्थित रुपमा सम्पन्न गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा महाशिवरात्रि पर्व व्यवस्था मूल समारोह समिति गठन गरिएको
छ।
महाशिवरात्रिमा छिमेकी मुलुकहरू भारत, भुटान, बंगलादेशसँगै समुन्द्रपारि म्यानमारबाट पनि भक्तजन आउने गरेका छन्। भक्तजनको चाप बढ्ने भएसँगै पूजाआजा र दर्शनका लागि बुधबार राति (बिहान २ बजे) देखि नै मन्दिरको ढोका खुला हुने भएको छ।
हरेक वर्ष महाशिवरात्रिको दिनमा हुने पर्वलाई व्यवस्थित बनाउने गरी सबै व्यवस्था गरिएको छ। करिब १० लाख भक्तजनले मन्दिरमा पूजाआजा गर्ने कोषका ईडी सुभास जोशीले जानकारी दिए। उनले गत वर्षको तुलनामा भक्तजन बढी हुने बताए।
यस वर्ष झण्डै १० लाख भक्तजन मन्दिरमा दर्शन गर्न जाने ईडी जोशीले बताए। उनका अनुसार एक जना भक्तजनले न्यूनतम १० रुपैयाँ भेटी चढाए पनि एक करोडको भेटी संकलन हुनेछ।
‘अहिले हामीलाई थाहा हुँदैन, मन्दिरमा कति भेटी संकलन हुन्छ भनेर, हामीले १० जना भक्तजन आउने अपेक्षा गरेका छौँ,’ उनले भने, ‘जसमा ५ लाख भक्तजनले भित्र गएर पूजा गर्ने छन्, बाँकी ५ लाख भक्तजनले बाहिरबाट मन्दिरको दर्शन गर्ने छन्।’
मेलामा भक्तजनको सुविधाका लागि स्वास्थ्य सेवा उपलब्ध गराएको कोषले जनाएको छ। कोषले मन्दिर परिसरमा साधुसन्तका लागि व्यवस्थापन गरेको छ।