काठमाडौं। लगातार सातौं दिन पनि सेयर बजार उकालो लागेको छ। गत साताको आइतबारदेखि बढ्न थालेको सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार पनि बढ्दै लगातार सातौं दिन उकालो लागेको हो।
मंगलबार नेप्से ७.१३ अंकले बढेर २७६५.८८ बिन्दुमा बन्द भएको छ। अघिल्लो कारोबार दिन सोमबार पनि नेप्से ३.३५ अंकले बढेर २७५८.७५ बिन्दुमा पुगेको थियो।
यसअघि, नेप्से आइतबार ११.६६ अंक, गत साताको बिहीबार ३.१४अंक, मंगलबार १२.६८ अंक, सोमबार २९.८७ अंक र आइतबार १९.५६ अंकले बढेको थियो।
मंगलबार नेप्सेमा कुल ९ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन सोमबार भने कुल ११ अर्ब ८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। यस्तै, आइतबार कुल ११ अर्ब ५४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
मंगलबार कारोबारमा आएकामध्ये १०४ कम्पनीको सेयर मूल्य बढ्दा १३२ कम्पनीको घटेको छ। यस्तै, ९ कम्पनीको सेयर मूल्य भने स्थिर छ।
मंगलबार गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा नेपाल लुबेवेल लिमिटेडको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ।
विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने ८.९७ प्रतिशतले घटेको छ। मंगलबार राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दैछ।
समिक्षामा नीतिगत दरमा कुनै परिमार्जन नहुने विषय आएकाले बजार यसप्रति उत्साहित र हतोत्साहित दुबै नभएको देखिन्छ।
मंगलबार बैंकिङ समूहको सेयर मूल्य ०.०२ प्रतिशत, लगानी समूहको ०.७७ प्रतिशत, उत्पादन समूहको ०.१८ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.०५ प्रतिशत, जीवन बिमा समूह ०.८१ र अन्य समूहको सेयर मूल्य २.९० प्रतिशतले बढेको छ।
यस्तै, व्यापार समूहको सेयर मूल्य २.५१ प्रतिशत, निर्जीवन बिमा समूहको ०.२८ प्रतिशत, विकास बैंक समूहको ०.१२ प्रतिशत र फाइनान्स समूहको सेयर मूल्य ०.७१ प्रतिशतले घटेको छ।