काठमाडौं। भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टलमा मृत भेटिएकी प्रकृति लम्सालका बुबाआमासँग प्रधानमन्त्री केपी शर्मा ओलीले फोन संवाद गरेका छन्।
प्रकृतिको भैरहवास्थित घरपरिवारसँग प्रधानमन्त्री ओलीले टेलिफोन गरी परिवारलाई समवेदना दिएका छन्।
लम्साल निवासमा पुगेका एमाले नेता महेश बस्नेतले प्रकृतिका बुबा सुनिल लम्सालसँग प्रधानमन्त्री ओलीसमक्ष फोन गराएका हुन्।
प्रधानमन्त्री ओलीले दुःखद घटनाले निकै पीडा दिएको बताउँदै निष्पक्ष छानबिनको पहल भइरहेको र स्व. प्रकृतिको न्यायका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले परिवारलाई सम्हालिन आग्रह गर्दै भने, ‘भइसकेको कुरा फर्काउन सकिँदैन, नहुने कुरा भइसक्यो। घटनामा संलग्न दोषीलाई कारबाही गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता सरकारले जनाएको छ। सुरुआती समयदेखि नै पहलकदमी लिएको छ।’
प्रकृतिका बुबा सुनिलले अब यस्ता घटना दोहोरिन नदिने वातावरण बनाउन भनेका थिए। उनले भने, ‘आगामी दिनमा यस्ता घटना सुन्न नपरोस्। दोषीलाई कडा कारबाहीका लागि सरकारबाट पहल होस्।’
सोमबार बिहान सिद्धार्थनगर नगरपालिका–८ बैंककलोनीस्थित लम्साल निवासमा पुगेर पूर्वमन्त्री बस्नेतले परिवार भेटेको सिद्धार्थनगर नगर उपप्रमुख उमा अधिकारीले बताइन्।
२० वर्षीया प्रकृतिल केआईआईटीको होस्टेलमा गत फागुन ४ मा मृत भेटिएकी थिइन्।