काठमाडौं। नेपालीका लागि आकर्षक गन्तव्य बन्दै आएको कोरियामा रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत श्रमिक छनोट भएर भिसा आइसक्दा पनि उडान तालिका सार्वजनिक हुन सकेको छैन।
इपिएसमार्फत छनोट भएर भिसा आइसके पर्याप्त उडान नहुँदा कोरिया जान नपाएको गुनासो श्रमिकले गरेका हुन्।
इपिएसबाट १७०० को संख्यामा कोरिया रोजगारीका लागि छानिएकाहरु उडान तालिकाको पर्खाइमा रहेका छन्। नियमित उडान संख्या वृद्धि गर्न, चार्टर फ्लाइट व्यवस्था गर्न वा वैकल्पिक उपाय खोज्न सरकारसँग उनीहरूले माग गरेका छन्।
यो विषयमा श्रमिकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई समेत जानकारी गराइए पनि बेवास्ता भएको उनीहरुको गुनासो छ। वैदेशिक रोजगार विभागअन्तर्गत इपिएस शाखा कार्यालयले भिसा आइसकेका सबैले जान पाउने जनाएको छ।
तर, मार्च पहिलो साता ३५५ जनाको, दोस्रो साता ६२५ जनाको, तेस्रो र चौथो साताका लागि करिब ८०० जना जतिको उडान तालिका आइसकेको कार्यालयका शाखा अधिकृत कमल श्रेष्ठले बताए। एनका अनुसार मार्चभर १८०० जना जति कोरिया जानेछन्।
अप्रिल र मेका लागि कोरियाले उडान तालिका पठाउनेछ। कोरियाका लागि उडान टेन्डर प्रक्रियाका कारण उडान तालिकामा केही फरक परेको हो।
हाल ट्रान्जिटमार्फत उडान हुँदै आएको छ। यसअघि सिधा उडानमार्फत मात्रै कामदार जाने गरेका थिए। अहिले ट्रान्जिटमार्फत जाँदा हवाई भाडा समेत घटेर ४८ हजार ६६५ रुपैयाँ छ। जबकि यसअघि एक लाख २३ हजार हवाई भाडा तिर्नुपथ्र्यो।
टेन्डर प्रक्रियाका, डिसेम्बरमा कोरियामा परेका चाडपर्वलगायत कारणले ढिलाइ भएको इपिएस शाखाकाे दाबी छ।