काठमाडौं। आराध्यदेव पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ। पशुपति क्षेत्र विकास कोषले पत्रकार सम्मेलन गरेर महाशिवरात्रिमा भक्तजनले सहज रूपमा दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको जानकारी दिएको हो।
पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि दस उपसमिति गठन गरिएको प्रचारप्रसार तथा साजसजावट व्यवस्था उपसमिति संयोजक राजकुमार खत्रीले जानकारी दिए।
उनले भने, ‘यसपटक हामीले दुई सेकेन्डमा दस जनालाई दर्शन गर्न सक्ने गरी प्रबन्ध मिलाएका छौँ। दर्शन गर्न आउने भक्तजनलाई यथाशीघ्र, सहज रूपमा दर्शन गराउने हाम्रो प्रयास रहेको छ। अघिल्लो वर्षभन्दा यस पटक दर्शन गर्न आउने भक्तजन बढ्ने अनुमान गरेका छौं।’
उनले पशुपति प्रवेश गर्ने बाहिर चार वटा लाइन र भित्र पुगेपछि पश्चिम ढोका र उत्तर ढोका तीनतीन र पूर्व र दक्षिण ढोकामा दुईदुई वटा लाइन रहने जानकारी दिए। संयोजक खत्रीले पशुपति परिसर प्लाष्टिक निषेधित क्षेत्र भएकाले दर्शन गर्न आउने भक्तजनले सोहीअनुरुप बुझिदिन आग्रह गरे।
‘हामीले फागुन १४ गते बिहान २ बजेर ३० मिनेटदेखि १५ गते बिहीबार ६ बजेसम्म दर्शनका लागि ढोका खुला गर्नेछौँ। यस समयावधिमा पाँच लाख बढीले प्रत्यक्ष दर्शन गर्ने अनुमान छ। यसबाहेक मन्दिर परिसरमा मात्र आउनेको संख्या जोड्दा त्यो बढ्नेछ’, संयोजक खत्रीले भने।
उनले शिवरात्रिको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको जानकारी दिए। उनका अनुसार पशुपति क्षेत्रमा सफाइ, शौचालय, खानेपानी र जुत्ताचप्पल राख्ने स्थानको सहज पहुँचको प्रबन्ध मिलाइएको छ।
सुरक्षा व्यवस्था, प्रचारप्रसार, दर्शन, रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीलगायत प्रबन्ध मिलाइने संयोजक खत्रीले बताए।
सुरक्षा व्यवस्था, अनुगमन, प्रचारप्रसार व्यवस्था, दर्शन, चन्दन मन्दिर एवं रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीका लागि दाउराको व्यवस्था, धार्मिक कार्यक्रमको व्यवस्था र जुत्ताचप्पल व्यवस्थापन गर्न उपसमितिले काम सुरु गरिसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
महाशिवरात्रिमा छिमेकी भारतलगायत तेस्रो मुलुकबाट हजारौँको सङ्ख्यामा तीर्थालु तथा पर्यटक भित्रिने अपेक्षा गरिएको छ। पशुपतिनाथका विभिन्न क्षेत्रलाई अहिले रंगीचंगी पारिनुका साथै फूल तथा बिजुली बत्तीले सजाइएको छ।