काठमाडौं। चोथौ नम्बरमा रहेका भोला थापालाई एक नम्बरमा ल्याउन संयोजक सुरेशराज शर्माको अडानमा बाँकी सदस्य सहमत नहुँदा भिसी छनोट प्रक्रियाले अन्तिम रुप लिन सकेको छैन।
गत शुक्रबार सम्पूर्ण प्रक्रिया सकिएर मेरिटका आधारमा तीन जनाको नाम कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सिफारिस गर्नुपर्ने थियो। मेरिटका आधारमा डा. बालचन्द्र लुइँटेल, अच्युत वाग्ले र डा. सुवोध शर्मा छानिए पनि संयोजक शर्माले चाहेका थापा मेरिटमै नपरेपछि प्रक्रिया रोकिएको हो।
संयोजक शर्माले कुनै हालतमा थापालाई अन्तिम तीनभित्र पारेर लैजानुपर्ने अडान लिएपछि त्यसको विपक्षमा सदस्यद्वय डा. अर्जुक कार्की र जनार्दन नेपाल उभिँदा प्रक्रिया लम्बिएको हो। शक्ति केन्द्रमा निरन्तर धाइरहेका र शक्ति केन्द्रलाई आफ्नो पक्षमा पार्न सकिने दाउमा थापा छन्।
थापाकै अनुरोधमा शर्माले प्रक्रिया लम्ब्याएका हुन्। यता प्रक्रिया लम्ब्याउँदै जाने र शक्ति केन्द्रलाई आफ्नो पक्षमा पार्ने थापाको दाउ हो। त्यहीअनुसार थापा र उनका वरिपरीका व्यक्ति कहिले पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, त कहिले प्रधानमन्त्री ओलीसमक्ष दूत पठाइरहेका छन्।
समितिमा पनि मेरिटभन्दा बाहिर गए आफूहरू विरोधमा उत्रिने बताएपछि शर्माले भिसीको निर्णयलाई अघि बढाउन चाहेका छैनन्।
तर, यो बीचमा देउवा र कांग्रेस महामन्त्री गगन थापा मेरिटका आधारमा हुनुपर्ने अडानमा बसेपछि संयोजक शर्मा र भोला अप्ठ्यारोमा परेका हुन्। केही दिनअघि कांग्रेसका नेता ज्ञानेन्द्र कार्की, महन बस्नेत तथा जगत तिमिल्सेना देउवालाई थापाको पक्षमा पार्न देउवा निवास गएका थिए। तर, देउवाले मेरिटभन्दा बाहिर जान नसक्ने जवाफ दिएपछि संयोजक शर्मा थप समस्यामा परेका हुन्।
त्यसैगरी, समितिमा पनि मेरिटभन्दा बाहिर गए आफूहरू विरोधमा उत्रिने बताएपछि शर्माले भिसीको निर्णयलाई अघि बढाउन चाहेका छैनन्। ‘अहिले हरेक दिन समितिको बैठक बसिरहेको छ,’ एक सदस्यले भने, ‘भोला थापालाई कसरी अन्तिम तीनभित्र पार्न सकिन्छ भनेर शर्माले विषय प्रवेश गराउनु हुन्छ। त्यसमा हामी मान्न तयार छैनौँ। विषय जहाँको त्यही रहन्छ।’
‘अहिले शर्मा समितिका दुई सदस्यको हस्ताक्षर बेगर थापाको नाम एक नम्बरमा राखेर प्रधानमन्त्रीसमक्ष लैजाने सोचमा हुनुहुन्छ’ ती सदस्यले भने, ‘यदि संयोजकले बलमिच्याई गर्नु भयो भने हामी राजीनामा दिन्छौँ। शर्माले गरेका सबै क्रियाकलाप बाहिर ल्याउँछौँ। हामी अहिले पनि मेरिटका आधारमा गरौँ भन्ने पक्षमा छौँ। तर, संयोजक ज्यू अंक नै फेरबदल गरेर भोला थापालाई माथि ल्याउने सोचमा हुनुहुन्छ। त्यो हामी कदापी मान्दैनौँ।’
आफ्ना उम्मेदवार तीनभित्र नपरेपछि संयोजक शर्माले सबै कुरा मेरिटले नगर्ने भन्दै संस्थागत हित कसले गर्छ, त्यो पनि हेर्नुपर्ने बताउन थालेका छन्। त्यहीबाट बुझिन्छ थापा पहिले तीनभित्र परेका छैनन्। उनलाई ल्याउन अनेकन नाटक रचिँदै छ। मेरिटभन्दा बाहिर जान नहुने अडानमा कार्की र नेपाल रहेकाले प्रक्रिया लम्बिरहेको छ।