काठमाडौं। नेपालको पहिलो आईटी कलेज लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले जेहेन्दार तथा आर्थिक रुपमा कमजोर विद्यार्थीलाई लक्षित गरी यो वर्ष छात्रवृत्ति प्रदान गर्ने भएको छ।
कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघसँगको सहकार्यमा फाउण्डेशनले सबै प्रदेशका ४९ जना विद्यार्थीलाई आंशिक तथा पूर्ण छात्रवृत्ति दिने घोषणा गरेको हो। ‘नेसनल आईसीटी स्कलरसिप-२०८१’ का लागि आवेदनसमेत खुला भएको फाउण्डेशनले जनाएको छ। छात्रवृत्ति कार्यत्रमको सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले औपचारिक उद्घाटन गरे।
देशका सबै प्रदेशका विद्यार्थीलाई समान अवसर दिने उद्देश्यले प्रत्येक प्रदेशबाट एक छात्रालाई पूर्ण छात्रवृत्ति र अन्य ४२ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिने फाउन्डेसनका अध्यक्ष ई. पंकज जालानले बताए।
यस्तै, फिमेल मेरिट आईसीटी स्कलरसिपअन्तर्गत प्रत्येक प्रदेशबाट चार जनालाई गरी २८ जना छात्रालाई छात्रवृत्ति दिइने जालानको भनाइ छ। काठमाडौंको डिल्लीबजारस्थित फाउण्डेशनले आर्थिक रुपमा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरी हरेक प्रत्येक वर्ष छात्रवृत्ति प्रदान गर्दै आएको छ।
छात्रवृत्ति कार्यक्रमको सफल कार्यान्वयनले नेपालभित्र रहेको डिजिटल विभाजन कम गर्ने तथा अन्य संस्थालाई सार्वजनिक तथा निजी साझेदारीमा यस्ता पहल गर्न प्रेरित गर्ने अध्यक्ष ई. जालानको विश्वास छ।
क्यान महासंघ र लर्ड बुद्ध एजुकेसन फाउन्डेसनबीच भएको सम्झौताअनुसार ४९ जना विद्यार्थीले कूल २ करोड १३ लाख बराबरको छात्रवृत्ति प्राप्त गर्ने छन्। छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीले मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसन (एपीयू)को सम्बन्धनमा सञ्चालित लर्ड बुद्ध एजुकेसन फाउन्डेसनमा स्नातक तह बीएससी आईटी अध्ययन गर्न पाउने छन्।
छात्रवृत्तिका लागि नेपाल सरकारको मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस टु वा सो सरह उत्तीर्ण गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याएका विद्यार्थीहरूले आवेदन दिन सक्ने छन्।
आवेदन फाउन्डेसनको वेबसाइट (www.lbef.org)मार्फत २०८१ फागुन २५ गतेसम्म दिन सकिने छ। आवेदन फारमसँगै कक्षा १० र १२ को मार्कसिटको प्रतिलिपि, एउटा फोटो, नागरिकता वा जन्मदर्ता प्रमाणपत्र र स्थानीय सरकारको सिफारिसपत्र संलग्न गर्नुपर्ने छ।