काठमाडौं। लगातार छैठौं कारोबार दिन पनि सेयर बजार सकारात्मक हुँदै बन्द भएको छ। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.३५ अंकले बढेर २७५८.७५ बिन्दुमा पुगेको हो।
यसअघिका पाँच कारोबार दिन पनि नेप्से लगातार बढेको थियो। आइतबार नेप्से ११.६६ अंकले बढेर २७५५.४० बिन्दुमा बन्द भएको थियो भने गत साताको बिहीबार ३.१४, मंगलबार १२.६८ अंक, सोमबार २९.८७ अंक र आइतबार १९.५६ अंकले बढेको थियो।
सोमबार नेप्सेमा कुल ११ अर्ब ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। आइतबार भने नेप्सेमा कुल ११ अर्ब ५४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
सोमबार कारोबारमा आएकामध्ये ९० कम्पनीको सेयर मूल्य बढ्दा १४५ कम्पनीको घटेको छ। यस्तै, ९ कम्पनीको सेयर मूल्य भने स्थिर छ।
सोमबार गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा राप्ती हाइड्रो एन्ड जेनेरल कन्ट्रक्सनको सेयर मूल्य ९.४७ प्रतिशतले बढेको छ। विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।
सोमबार बैंकिङ समूहको सेयर मूल्य ०.०८ प्रतिशत, लगानी समूहको ०.९८ प्रतिशत, उत्पादन समूहको ०.९७ प्रतिशत र अन्य समूहको सेयर मूल्य २.५० प्रतिशत बढेको छ।
यस्तै, विकास बैंक समूहको सेयर मूल्य ०.०९ प्रतिशत, फाइनान्स समूहको १.२१ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.८७ र जलविद्युत् समूहको सेयर मूल्य ०.१५ प्रतिशतले घटेको छ।