काठमाडौं। पछिल्ला केही साता यता गभर्नर महाप्रसाद अधिकारी पदावधी सकिएर राष्ट्र बैंकबाट बाहिरिने र मौद्रिक नीति समिक्षाको चर्चा धेरै मात्रामा भइरहेको छ। यी दुई विषयलाई सेयर बजारसँग जोडेर विभिन्न किसिमका आँकलन तथा विश्लेषणहरु पनि भइरहेका छन्। चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा फागुन दोस्रो सातासम्म आउने चर्चा भइरहेको छ। हुन त, फागुन १५ गतेसम्म ल्याउनुपर्ने राष्ट्र बैंकले नै प्रावधान तोकेको छ।
यस्तै, गभर्नर अधिकारीको कार्यकाल आउँदो चैत २६ मा समाप्त हुँदैछ। यद्यपि, उनी एक महिना विदा बस्न सक्ने भएकाले फागनु अन्तिमबाट राष्ट्र बैंकको गभर्नरको भूमिकामा सक्रिय नरहने सम्भावना पनि छ। गभर्नर अधिकारीको कार्यकाल सकिने र मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पनि आउने विषयलाई सेयर लगानीकर्ताले पहिलादेखि नै उचालिरहेका छन्। आफ्नो कार्यकालको अन्तिम मौद्रिक नीति समीक्षा गभर्नर अधिकारीले कस्तो ल्याउँछन् भन्ने विषयमा पनि सबैको चासो देखिन्छ।
साधारण लगानीकर्ता संघ नेपालका अध्यक्ष ऋतुजंग जिसी सेयर बजारलाई अहिले गभर्नर बाहिरिने र मौद्रिक नीति आउने विषयसँग जोडेर बढी हेरिएको बताउँछन्। ‘मौद्रिक नीति आर्थिक गतिविधि चलयमान बनाउने ढंगमा आउनुपर्ने आवश्यक्ता छ। वर्तमान आर्थिक स्थितिले नै मौद्रिक नीति सकारात्मक आउनुपर्ने निर्देश गरेको देखिन्छ,’ अध्यक्ष जिसी भन्छन्, ‘मौद्रिक नीति सकारात्मक आएर बजारका लागि काम गर्ने गभर्नर नियुक्ती भएमा बजारले राम्रो पर्फमेन्स देखाउन सक्छ।’
उनले पछिल्लो केही दिन यता बजारले सकारात्मकता देखाएकाले यसबाट थप सुधार हुनसक्ने सम्भावना रहेको बताए। हुन पनि, निकै लामो समयपछि गत साताको चार कारोबार दिनमा चारै दिन सेयर बजार बढ्यो। फागुन १ गते २६७८.४७ बिन्दुमा रहेको नेप्से गत साताको चार कारोबार दिनमा ६५ अंकले बढेर बिहीबार (फागुन ८ गते) २७४३.७४ बिन्दुमा रोकिएको छ। माघ २४ गते बिहीबार २६९९.८१ बिन्दुमा रहेको सेयर बजार अघिल्लो साताको पाँच कारोबार दिनमा भने २१ अंकले घट्दै फागुन १ मा २६७८.४७ बिन्दुमा रोकिएको थियो।
त्यसअघिको साता पनि ४२ अंकले घटेको थियो। गत साता नेप्से सूचक सकारात्मक हुँदा चार कारोबार दिनमा कुल ३७ अर्ब ९८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो साताको पाँच कारोबार दिनमा नेप्सेमा कुल ३८ अर्ब ६९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। त्यसअघिको साता भने कुल ५१ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। पछिल्लो केही दिन यता कारोबार रकम पनि राम्रो अवस्थामा रहेकाले बजार माथिल्लो बिन्दुतर्फ नै बढी जाने सम्भावना भएको लगानीकर्ताको आँकलन छ।
सेयर लगानीकर्ता छोटेलाल रौनियार केही दिन यता बजारमा पोजिटिभ भाइब्स देखिएको बताउँछन्। ‘अब आउने मौद्रिक नीति समिक्षा केही सकारात्मक नै आउने आँकलन छ भने गभर्नर बाहिरिने समय पनि आइरहेको छ। गभर्नर गएपछि बजारको पक्षमा काम गर्ने व्यक्ति आएमा थप राम्रो हुन सक्छ,’ रौनियार भन्छन्, ‘यस्तै, नेपाल पुनः नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे’ सूचीमा परेपनि यसले भने खासै असर नगर्ने देखिन्छ।’
रौनियारले भनेजस्तै नेपाललाई सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी नियम पालनामा अक्षम देखिएको भन्दै फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ) को एसिया प्रशान्त समूह (एपिजी) ले ‘ग्रे’ सूचीमा राखेको छ। फ्रान्सको पेरिसमा बुधबारदेखि सुरु भएको फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) बैठक समापन अवसरमा शुक्रबार नेपालसहित लाओसलाई दुई वर्षका लागि ग्रे लिस्टमा राखिएको हो। यद्यपि, यसले सेयर बजारमा खासै असर नगर्ने तर्क रौनियारको छ।
हुन त, यसअघि नेपाल सन् २००८ जनवरीदेखि २०१४ जनवरीसम्म ग्रे लिस्टमा परेको थियो। तर, पछि नेपालले कानुनी र संस्थागत संरचना (सम्पत्ति शुद्धीकरण विभाग) बनाएसँगै सूचीबाट हटेको थियो। नेपाल एफएटिएफको सदस्य राष्ट्र नभए पनि एपिजीको सदस्य राष्ट्र हो। हाल एफएटिएफले आगामी दिनमा नेपाललाई ग्रे सूचीबाट निस्कन सहकार्य जारी राख्ने जनाएको छ भने नेपालले ग्रे सूचीबाट हट्न सातबुँदे सुधार प्रतिबद्धता गरिसकेको विषय आएको छ। यस विषयलाई पनि बजारको चर्चाको माध्यम भने बनाउन सक्ने सम्भावना पनि उतिकै छ।
वर्तमान समयलाई हेर्ने हो भने सेयर बजारका लागि अधिकांश सूचकहरु सकारात्मक देखिन्छन्। ब्याजदर न्यून बिन्दुमा छ भने बजारको लागि पर्याप्त तरलता छ। कांग्रेस एमालेको सत्तासमिकरणमा परिवर्तन आइहाल्ने किसिमको संकेत पनि छैन। सेयर बजारका लागि धेरै कसिला नीति रहेको स्थिति पनि छैन। मौद्रिक नीति समिक्षा नजिकिँदा पनि सेयर लगानीकर्तासँग सेयर धितो कर्जामा लगाइएको व्यक्तिगततर्फको १५ करोड सीमा खारेज गर्नुपर्ने र कर्जामा लगाइएको जोखिम भारलाई १२५ प्रतिशतबाट घटाई सबै सेयर धितो कर्जामा १०० प्रतिशत जोखिम भार कायम गरिदिनुपर्ने लगायत अन्य खास विषय देखिँदैन।
अर्कोतर्फ, नेपाल धितोपत्र बोर्डले बजारसँग सम्बन्धित नीतिगत सुधारका काम पनि विस्तारै गर्ने तयारीमा लागेको देखिन्छ। सबैको चासोमा पर्ने गरेको साधारण सार्वजनिक निष्कासन (आईपिओ) अनुमति प्रदान कार्यमा पनि बोर्डले काम गर्दै गएको देखिन्छ। बजारमा सूचीकृत अधिकांश कम्पनीले आफ्ना लगानीकर्तालाई प्रदान गर्ने लाभांश घोषणा गरिसकेका छन् भने बिमा लगायत कतिपय क्षेत्रका कम्पनीले अहिले पनि गरिरहेका छन्। अधिकांश वित्तीय सूचक सकारात्मक रहेको स्थितिमा लगानीकर्ताको मनोबल उकास्ने सामान्य काम मात्रै भएमा पनि बजार राम्रो आँकलन गर्न सकिन्छ।