काठमाडौं। नेकपा एमालेका अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले प्रधानमन्त्रीको कार्यभार सम्हाल्दै आएका छन्। सत्तामा हुँदा होस् वा प्रतिपक्षीको भूमिकामा हुँदा उनी सधैँ आर्थिक मामिलाको विषयमा विवादमा पर्दै आएका छन्।
यसैक्रममा उनी बस्दै आएको भक्तपुरस्थित बालकोटको निजी निवासमाथि समेत टिप्पणी हुँदै आएको छ। तर,सोही विषयमा प्रधानमन्त्री अोलीकी पत्नी राधिका शाक्यले स्पष्ट पारेकी छन्। आफूले लेखेको आत्मकथा ‘करुणा’को विमोचन कार्यक्रममा उनले आफूहरू बस्दै आएको घरबारे उल्लेख गरेकी हुन्।
पुस्तक विमोचनमा बोल्दै लेखिका शाक्यले आफूूले नेपाल राष्ट्र बैंकमा ३३ वर्ष जागिर खाएर बालकोटमा घर जोडेको बताइन्। यस्तै, अहिले पेन्सनबाट घर खर्च चलाउँदै आएको उनको भनाइ थियो। उनले बालकोटको घरलाई दरबार भनेर प्रचार गर्नेसँग दुःखेसो पोख्न भ्याएकी थिइन्।
'हाम्रो जीवनशैली सामान्य नै हो। दुःखी, गरिब र असहायलाई सहयोग गर्न पाउँदा खुसी लाग्छ। जीवनको एक-एक हिसाब बुुझाउन म तयार छु। बालकोटको घर पसिना र मेहनतबाट बनाइएको हो,' उनले भनिन्।
यस्तै, प्रधानमन्त्री अोलीले आफू बस्दै आएको घर आफ्नो हुतीले बन्न नसक्ने बताए। यस क्रममा उनले आफ्नी श्रीमती राधिकाले घर बनाएकाले सहज भएको बताएका थिए।
प्रधानमन्त्री ओलीले भने, 'मेरो हुतीले बालकोटमा हाम्रो घर बन्न सक्ने थिएन। त्यो सबै राधिकाको कमाई र मेहनत हो। त्यो घर पनि ट्रष्टका नाममा दान गरिसकिएको छ। मेरो त सानो हुँदा आफूले खनजोत गरेको झापाको खेत पनि बाढी पहिरोले बगाइसकेको छ। राधिका नहुने हो भने म अहिलेसम्म यसरी बाँच्न सक्ने थिइनँ।'
यस क्रममा उनले देश र जनताको अधिकार खोज्न ज्यानको पर्वाह नगरी हिँडेको बताउँदै आर्थिक विषयमा अनेक अफवाह फैलाइएको भन्दै आक्रोशित बने।
उनले भने, 'मलाई धेरैले माया र साथ दिन्छन्। मैले लोभ गर्ने हो भने साथीहरूले घर सम्पत्ति जोड्न सहयोग गर्छन्। तर, मलाई कुनै लोभ छैन। मसँग जे छ, त्यो देश, पार्टी र राज्यको सम्पत्ति हो।'
प्रधानमन्त्री ओलीमाथि आर्थिक अपचलन गरी विदेशमा समेत लगानी गर्दै आएको अफवाह फैलिँदै आएको छ।