काठमाडौं। पछिल्लो समय नेपाली बजारमा विद्युतीय सवारी साधन (ईभी)को दबदबा छ। हरेक साता जस्तै नयाँ-नयाँ विद्युतीय गाडी काठमाडौंमा सार्वजनिक भइरहेका छन्। अधिकांशको रोजाइमा नयाँ विद्युतीय गाडी नै परिरहेको हुन्छ।
विद्युतीय सवारी साधनको दबदबाकै कारण अहिले नेपाली बजारमा पेट्रोल गाडीको बिक्री खस्किएको मात्र छैन, टिक्नै मुस्किल भइरहेको छ। बजारमा उपभोक्ता नै नभएपछि केही वर्षदेखि इन्धनका गाडी सार्वजनिक हुने क्रम न्यून छ। खासगरी चिनियाँ विद्युतीय गाडीको प्रवेशले नेपालमा मूल्य कम भइरहेको छ। साेही कारण सस्तो गाडी खोज्नेलाई सहज मात्र बनाएको छैन, सोखसमेत पूरा गरेको छ।
यसरी विद्युतीय सवारीको चर्चाका बीच आकर्षक मूल्य र फिचरसहित निशान फेसलिफ्ट सार्वजनिक भएको छ। निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पले फेसलिफ्ट भित्र्याएको हो।
३४ लाखमै पाइन्छ गाडी
निसान म्यागनाइट सन् २०२१ देखि नेपाली बजारमा चल्दै आएको गाडी हो। यसलाई नेपालमा सफल मोडलको रुपमा लिइन्छ। कम्पनीले निसान म्यागनाइट फेसलिफ्ट अपडेटेड भर्सनको रुपमा नेपाली बजारमा ल्याइएको छ। कम्पनीले नयाँ म्यागनाइट चारवटा भेरियन्टमा बजारमा ल्याएको हो। नयाँ म्याग्नाइटको सुरुवाती मूल्य ३४ लाख ७५ हजार रुपैयाँ र टप भेरियन्टको मूल्य ५२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
नयाँ म्याग्नाइट पहिलेभन्दा बोल्डर डिजाइन,उत्कृष्ट सुरक्षा विशेषता र अत्याधुनिक प्रविधिसहित आएको पायोनियर मोटोकर्पका महाप्रबन्धक ज्ञानेन्द्र बहादुर चन्दले बताए।
‘नयाँ म्याग्नाइट पहिलेभन्दा बोल्डर डिजाइन, उत्कृष्ट सेप्टी फिचर र अत्याधुनिक प्रविधिसहित आएको छ,’ महाप्रबन्धक चन्दले भने, ‘नयाँ म्याग्नाइटको जम्मा १३ प्रकारका ‘कन्फिगरेसन’ उपलब्ध छन्, जसमा टर्बो पेट्रोल र नेचुरल्ली एस्पिरेटेड इञ्जिनसहित म्यानुअल र अटोमेटिक ट्रान्समिसनका विकल्पमा उपलब्ध छन्।’
डुअल टोन ग्रील
नयाँ म्यागनाइटमा रिफ्रेस गरिएको डिजाइनमा फ्लोटिङ अफलिफ्टेड स्किड प्लेट, ठूलो ग्रील, नयाँ डुअल टोन १६ इन्च डायमण्ड–कट अलोय ह्विल छ। नयाँ डिजाइनमा तयार भएको टर्न इन्डिकेटर, स्लिक एलइडी हेडल्याम्प र थ्रीडी हनिकम्व प्याट्रनसहितको एलइडी टेलल्याम्पले डिजाइनमा नयाँ आयाम थप गरेको छ। एल आकारको सिग्नेचर डे टाइम रनिङ लाइटले म्याग्नाइटलाई आकर्षक बनाएको छ।
यसमा पहिलेभन्दा धेरै उत्कृष्ट सुविधाहरू समावेश गरिएको छ। हिट गार्डसहितको प्रिमियम लेदर सिट, मेमोरी फङ्सनसहितको मल्टि कलर एम्विएन्ट लाइट र प्लाज्मा क्लस्टर एयर आयनाइजर जस्ता विशेषता पाउन सकिन्छ।
ग्राउन्ड क्लियरेन्स
नयाँ म्यागनाइटको ग्राउन्ड क्लियरेन्स उत्कृष्ट छ। यसमा २०५ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ जुन नेपाली सडकको लागि उत्कृष्ट मानिन्छ।
‘प्रिमियर इन्टेलिजेन्ट की’
नयाँ म्यागनाइटमा ६० मिटर परबाटै रिमोटको सहायतामा इन्जिन स्टार्ट गर्न नयाँ ग्लोबल स्मार्ट की उपलब्ध गराएको छ। जसले गाडी छोडेर हिँड्दा स्वतः लक हुने र नजिकिँदा अनलक हुन्छ। यस एसयूभीमा ठूलो इलेक्ट्रोनिक बेजललेस अटो डिमिङ आईआरभीएस, हेडल्याम्प, टेलल्याम्प, डीआरएलएस, इन्डिकेटर, फ्रन्ट फग ल्याम्प र चारैतिर अवलोकन गर्ने मोनिटर उपलब्ध छ।
नयाँ म्याग्नाइटमा १७.७८ इन्चको डिजिटल क्लस्टर, २०.३२ इन्चको फ्लोटिङ टचस्क्रीन, वायरलेस एन्ड्रोइड अटो एन्ड एप्पल कार प्ले र क्रूज कन्ट्रोल जस्ता फिचर राखिएका छन्। साथै ड्यासक्याम, वायरलेस चार्जर, जेबीएल स्पिकर, पडल ल्याम्प र एलईडी स्कफ प्लेटलगायतका फिचर समावेश गरिएको छ। यी फिचरले नयाँ म्याग्नाइटलाई आधुनिक र प्रिमियम बनाएको छ।
उत्कृष्ट क्याविन
यसको क्याबिनमा सबैभन्दा ठूलो स्टोरेज, अपडेटेड सिट, ३३६ लिटरबाट ६९० लिटरसम्म बढाउन मिल्ने बुट स्पेस दिइएको छ। यसमा पछाडिको सिटलाई ६०:४० को अनुपातमा स्प्लिट गर्न मिल्नेलगायतका विशेषता पाउन सकिन्छ। नयाँ म्यागनाइटमा दिइएको हाई कमाण्ड ड्राइभिङ पोजिसन, अगाडिको आर्मरेस्ट स्टोरेज र कुल्ड ग्लोभ बक्स जस्ता फिचरले भित्री भागलाई आरामदायी र आकर्षक बनाएको छ। यसको ड्यासबोर्ड, डोर प्याड र सेन्टर कन्सोल वरपर नयाँ ब्लाक र ओरेन्ज रङको थिम दिइएको छ। यसको ड्यासबोर्ड लेआउट, एसी भेन्ट्सको डिजाइन र स्टेयरिङ ह्विल प्रि–फेसलिफ्ट मोडलभन्दा धेरै फरक छ।
इन्जिन
नयाँ निसानमा १ लिटर नेचुरल्ली एस्पिरटेड र १ लिटर टर्बो पेट्रोल इन्जिन विकल्पमा छ। यसको १ लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिनले ७२ पीएस पावर र ९६ एनएम टर्क जेनेरेट गर्छ। योसँगै १ लिटर टर्बो पेट्रोल इन्जिनले १०० पीएस पावर र १६० एनएम टर्क जेनेरेट गर्छ। यस कारको इन्जिनमा ५ स्पिड गियरबक्स पाउन सकिन्छ। साथै यो म्यानुअल र इजेड–सिफ्ट (एएमटी) अप्सनमासमेत उपलब्ध छ।
सेफ्टी फिचर
नयाँ म्याग्नाइटमा स्ट्यान्डर्ड र एक्टिभ गरी कुल ५५ भन्दा बढी सेफ्टि फिचर दिइएको छ। कारमा ६ वटा एयर ब्याग, भेहिकल डाइनामिक कन्ट्रोल (भीडीसी) ट्रयाक्सन कन्ट्रोल सिस्टम (टीसीएस), हिल स्टार्ट असिस्ट, हाइड्रोलिक ब्रेक एसिस्ट, एबीएस, ईबीडी र टायर प्रेसर मोनिटरिङ सिस्टमलगायत अन्य फिचर पाउन सकिन्छ।

