काठमाडौं। स्याङ्जाको चापाकोटका विभिन्न स्थानमा सामूहिक आलुखेती गरिएको छ। चापाकोट नगरपालिकाको-८ र ९ का तीन वटा सहकारीमा आबद्ध कृषकहरूले झण्डै चार सय रोपनीमा सामूहिक आलुखेती गरेका हुन् ।
चापाकोटस्थित रत्नपुर साना किसान कृषि सहकारी संस्था,रत्नपुर बहुउद्देश्यीय सहकारी संस्था र नवदृष्टि कृषि सहकारी संस्थामा आबद्ध कृषकले छिपछाप,क्वामी,दिम्पा,सगुई,निर्दिम,माडी,बेल्टारीलगायत स्थानमा सामूहिक आलुखेती गरेका रत्नपुर साना किसान कृषि सहकारीका पूर्वअध्यक्ष जीवन डोटेलले बताए।
उनका अनुसार रत्नपुर बहुउद्देश्यीय सहकारी संस्थामार्फत तीन सय २० रोपनी, रत्नपुर साना किसान सहकारी संस्थामार्फत ५० रोपनी र नवदृष्टि सहकारीमार्फत २० रोपनी गरी कूल तीन सय ९० रोपनी क्षेत्रफलमा आलुखेती गरिएको छ।
“तीन सय ९० रोपनी क्षेत्रफलमध्ये २० रोपनीमा बीउका लागि आलु लगाइएको छ”,उनले भने,“बाँकी तीन सय ७० रोपनी क्षेत्रफलमा खायन आलु लगाइएको छ।”
सामूहिक आलुखेतीमा-८ र ९ का झण्डै दुई सय कृषक प्रत्यक्ष सहभागी भएको उनले बताए। उत्पादन हुने आलु चिप्स बनाउने कम्पनीसित सम्झौता भएकाले बजारीकरणका लागि कुनै समस्या नरहेको उनको भनाइ छ। यसवर्ष झण्डै चार सय टन आलु उत्पादन हुने अनुमान गरिएको उनले जानकारी दिए।
आलु कार्यक्रमकालागि कृषि ज्ञान केन्द्र स्याङ्जाले आलुको बीउमा ५० प्रतिशत अनुदान उपलब्ध गराएको कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले बताए।