काठमाडौं। वीरगन्जमा सञ्चालनमा रहेको चारतारे होटल दियालोको व्यवस्थापन सोल्टी होटलले गर्ने निश्चित भएको छ। दियालोको व्यवस्थापन सम्हालिरहेको भारतको चेन होटल लर्डस् प्लाजालाई हटाएर सञ्चालकले सोल्टीलाई भित्र्याएको हो।
दियालो होटल वीरगन्जका व्यवसायी अनिल रुंगटाले २०७५ देखि सञ्चालनमा ल्याएका हुन्। पछिल्लो समय होटल तथा रिसोर्ट व्यवस्थापनमा आक्रामक बनेको सोल्टीले वीरगन्ज क्षेत्रमा पनि आफ्नो बलियो उपस्थिति जनाउने उद्देश्यले दियालोको व्यवस्थापन सम्हाल्न लागेको हो।
सोल्टीका एक उच्च अधिकारीका अनुसार यही साताभित्र सम्झौता गरी सञ्चालन जिम्मा लिन लागिएको छ।
‘पहिलो चरणको सम्झौता भई कामसमेत सुरु भइसकेको छ,’ ती अधिकारीले भने, ‘सोल्टीको स्ट्यान्डर्ड कायम गर्न अहिले केही पूर्ण संरचनाका काम भइरहेका छन्।’
खासगरी भारतीय पर्यटकलाई लक्षित गरी सञ्चालनमा आएको दियालो होटलमा पछिल्लो समय आन्तरिक एवं बाह्य पर्यटक आगमन उच्च भइरहेका बेला सोल्टी होटलको प्रवेशले थप सहज हुने विश्वास सञ्चालकको छ।
९ तले भवनमा अवस्थित होटलमा स्विट, डिलक्स र स्ट्यान्डर्ड गरी ६० वटा कोठा सञ्चालनमा छन्। यस्तै स्पा, रेस्टुरेन्ट, क्यासिनो र स्विमिङ पुलसमेत होटलमा रहेको छ।
पछिल्लो समय भारतबाट वीरगन्ज क्षेत्रमा सञ्चालित होटलमा विवाहका लागि धेरै आउने गरेका छन्। वेडिङ डेस्टिनेसनको रुपमा दियोलोलाई बनाउने उद्देश्यका साथ व्यवस्थापन सम्हाल्न लागिएको सोल्टी होटलले जनाएको छ।
केही समयअघि मात्र सोल्टीले भैरहवामा सञ्चालित पाँचतारे रिसोर्ट टाइगर प्यालेसको व्यवस्थापन सम्हालेको थियो। सोल्टी नेपालसहित विदेशमा समेत आफ्नो उपस्थिति जनाउने तयारीमा छ।