काठमाडौं। पियोर इनर्जी लिमिटेडले फागुन २० देखि आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री गर्ने भएको छ।
कम्पनीले स्थानीयलाई जारी पुँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात् १ करोड ६० लाख रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेको हो। कम्पनीले १ सय अंकित मूल्यमा १ लाख ६० हजार कित्ता सेयर आयोजना प्रभावित बाँकेका स्थानीयलाई जारी गर्न लागेको हो।
सर्वसाधारणमा निष्कासन हुने १४ लाख ४० हजार कित्तामध्ये १० प्रतिशत अर्थात् १ लाख ४४ हजार कित्ता सेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्नेछन्। यसमा दुवै समूहका लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
आयोजना प्रभावितले न्यूनतम १० कित्तादेखि अधिकतम १६ हजार कित्तासम्मको दागि आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारमा रहेका नेपालीले पनि न्यूनतम १० कित्तादेखि अधिकतममा ७ हजार २०० कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।
स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले चैत ५ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ।
स्थानीयले बाँकेको खजुरास्थित सौर्य विद्युत उत्पादन केन्द्र, तथा नबिल बैंकको कोहलपुर र नेपालगन्जबाट आवेदन दिन सक्नेछन्। सेयर बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ।
यस्तै, लक्ष्मी सनराइज बैंकको कोहलपुर र नेपालगन्ज शाखा, सिद्धार्थ बैंकको खजुरा, न्यूरोड नेपालगञ्ज, र वीपी चोक तथा कुमारी बैंकको चिसापानी, खजुरा, कोहलपुर, सुर्खेतरोड नेपालगन्ज र रिमझिम बजारको शाखाबाट आवेदन दिन सक्नेछन्।
क्रेडिट रेटिङ संस्था केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ दिएको छ। कम्पनीमा गोल्यान समूहको लगानी छ।