काठमाडौं। मेबाइल सेवाप्रदायक कम्पनी एनसेलको एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ यस वर्ष फागुन १५ देखि १८ सम्म पोखरामा आयोजना हुने भएको छ।
फेस्टिभलको बाह्रौं संस्करणलाई आयोजक बुकवर्म फाउन्डेसन थप विशेष र उत्साहजनक बनाउने लक्ष्यस रहेको फाउन्डेसनले जनाएको छ। साहित्यको ‘कुम्भ मेला’ मा यसअघिका संस्करणमा जस्तै सहयोग रहने अपेक्षा एनसेलको छ।
अघिल्ला संस्करणमा जस्तै यसपटक पनि फेस्टिभल बाराहीघाट, लेकसाइडमा हुनेछ, जहाँ देश–विदेशका साहित्यानुरागीको जमघट हुनेछ। सूचना सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले फेस्टिभलको उद्घाटन गर्ने एनसेलले बताएको छ।
एनसेल फाउन्डेसन प्रमुख प्रस्तुतकर्ता रहेको फेस्टिभललाई बुध्द एयरले सम्वर्द्धन गरेको छ। पोखरा महानगर प्रवर्द्धक रहेको फेस्टिभलमा गण्डकी प्रदेश सरकार सहप्रवर्द्धक छ। त्यस्तै उप–प्रवर्द्धकका रूपमा नेपाल पर्यटन बोर्ड, कृषि विकास बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकले आयोजकलाई साथ दिनेछन्।
यस पटक फेस्टिभलमा देश–विदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, पत्रकार, सम्पादक एवं विशिष्ट व्यक्तित्वको उपस्थिति रहनेछ। त्यस्तै, ५० भन्दा बढी छलफल सत्र, अन्तक्र्रियात्मक कार्यक्रम, सांगीतिक प्रस्तुति र अन्य रचनात्मक कार्यक्रम पनि समावेश छन्।
यस पटक प्राध्यापक तथा अर्थशास्त्री महेन्द्र पी लामाको विद्वत् प्रवचनसँगै फेस्टिभल सुरु हुने एनसेलले जनाएको छ। उनी इन्दिरा गान्धी ओपेन युनिभर्सिटी (आईजीएाओयू) को प्रो–उपकुलपति र भारतको सिक्किम विश्वविद्यालयका संस्थापक उपकुलपतिसमेत हुन्।
मनीषा कोइराला र विजय कुमारको विशेष संवाद आकर्षणको केन्द्र बन्ने बुकवर्म फाउन्डेसनको विश्वास छ। यसैगरी नेपाली सिनेमा नायक राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’को आवरण तथा पुस्ताकांश लोकार्पण पनि विविध विशेष सत्रमध्ये एउटा रहेको छ।
उद्यमी एव लेखक जीवा लामिछानेको बहुप्रतीक्षित पुस्तक ‘अक्षत अन्टार्कटिका’को लोकार्पण पनि फेस्टिभलको आकर्षण रहनेछ।
नेपाली क्रिकेटका ढुकढुकी पारस खड्का हुन् या साहित्यानुरागीबीच चर्चित भूषिता वशिष्ठ, समाजसेवालाई आफ्नो कर्म बनाएका डा. भगवान कोइरालादेखि म्यागी डोएनसम्मका व्यक्तित्वका प्रेरणादायी संवाद फेस्टिभलमा रहनेछन्।
नेपाली अमेरिकी लेखक रञ्जन अडिगाको सहभागिता फेस्टिभलका दुई सत्रमा रहनेछ। उनको छोटो कथा संग्रह, ‘लिच एण्ड अदर स्टोरीज’माथि उनी र भूषिता वशिष्ठबीच संवाद हुनेछ।
फेस्टिभलमा साहित्यसँग जोडिएका सामाजिक, राजनीति, आर्थिक, नवीन प्रविधि, सिनेमालगायत विविध क्षेत्रका विषयमाथि गम्भीर मन्थन हुनेछ, जहाँ दैनिक हजारौं साहित्यानुरागीको सहभागिता रहने अपेक्षा एनसेलको छ।
विश्वप्रसिद्ध भारतीय लेखक शशि थरुरको पुस्तक ‘ह्वाई आई एम अ हिन्दू’को नेपाली संस्करण लोकार्पणसँगै फेस्टिभल समापन हुनेछ।
सन् २०११ देखि नेपाल लिटरेचर फेस्टिभल आयोजना हुन थालेपछि नेपालमा वार्षिक रूपमा दर्जनौं साहित्यिक महोत्सव हुन थालेको शुक्रबार पोखरामा आयोजना गरिएको प्रेस सम्मेलनमा फेस्टिभलका निर्देशक अजित बरालले बताए।
एनसेलकी इन्टेरिम मार्केटिङ, कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइसेक्टर विशाखा लक्ष्मी खड्काले सञ्चार र प्रविधिबाहेक कला र साहित्यका माध्यमबाट सबैलाई जोड्न कम्पनीको व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत एनसेल फाउन्डेसनमार्फत उत्सवसँग आबद्ध हुन लागिएको बताइन्।