काठमाडौं। माघमा मात्रै मुलुकभर ४७८ वटा आगलागीका घटना भएका छन्। ती आगलागीमा परी २२ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए।
उनका अनुसार मृत्यु हुनेमा ११ पुरुष, १० महिला र एक बालक छन्। घटनामा २६ पुरुष, ५४ महिला, चार बालक र तीन बालिका गरी ८७ जना घाइते भएका छन्।
आगलागीका घटनाबाट १७ परिवार विस्थापित भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। आगलागी नियन्त्रणमा तीन हजार ५०३ जना प्रहरी परिचालन भएको पनि आचार्यले बताए।
सबैभन्दा बढी कोशी प्रदेशमा आगलागी १२९ वटा आगलागीका घटना भएको छ। त्यसपछि मधेसमा ८९, बागमतीमा ४२, काठमाडौं उपत्यकामा ३७, गण्डकीमा ३९, लुम्बिनीमा ६३, कर्णालीमा ३२ र सुदूरपश्चिममा ४७ आगलागीका घटना भएको प्रहरीले जानकारी दिएको छ। प्रहरी प्रवक्ता आचार्यले ती आगलागीबाट ६८ वटा घर, ६६ वटा गोठमा क्षति भएको बताए।
कूल २४७ वटा पशुचौपाय क्षति भएको छ। आगलागीबाट १८ करोड ४८ लाखभन्दा बढीको आर्थिक क्षति भएको प्रहरीले जनाएको छ।