काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालले वित्तीय पहुँचमा उल्लेख्य प्रगति गरेको बताएका छन्। काठमाडौंमा सम्पन्न साउथ एसिया रिजनल फाइनान्सियल इन्क्लुजन इनिसिएटिभ (सार्फी) को ‘लिडर्स राउन्ड टेबल’ कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले वित्तीय पहुँचसँगै नेपालले विद्युतीय भुक्तानी प्रयोगको दायरा पनि बढाउँदै लगेको जानकारी दिए।
उनले दक्षिण एसिया क्षेत्रमा वित्तीय समावेशीकरणको लक्षित उद्देश्य प्राप्तिका निम्ति सार्फीको गतिविधिलाई परिणाममुखी बनाउन आवश्यक रहेको बर त्यसका लागि क्षेत्रीय सहकार्य एवं समन्वयलाई थप सुदृढ बनाउनुपर्ने धारणा व्यक्त गरे।
दक्षिण एसिया क्षेत्रमा वित्तीय समावेशीकरणलाई सुदृढ बनाउन वित्तीय सेवाको डिजिटलाइजेसन, ग्राहक संरक्षण, डिजिटल वित्तीय साक्षरता र साना तथा मझौला उद्यममा वित्तीय सेवा विस्तारमा जोड दिन उनले आह्वान गरे।
कार्यक्रममा श्रीलंकाली केन्द्रीय बैंकका गभर्नर डा पी। नन्दलाल विरासिंघेले दक्षिण एसियामा वित्तीय पहुँच र वित्तीय सेवा विस्तारका निम्ति सार्फीमार्फत अवलम्बन गर्नुपर्ने भावी दृष्टिकोणबारे सुझाव प्रस्तुत गरे। सार्फीमार्फत क्षेत्रीय सहकार्य र समन्वयलाई सुदृढ गर्दै आगामी पाँच वर्षका निम्ति दिगो, समावेशी र नवप्रवर्तनात्मक वित्तीय सेवाको प्रारूप तयार गर्ने विषयका एजेन्डालाई बैठकमा प्राथमिकता दिइएको थियो।
बैठकमा बंगलादेश बैंकका डेपुटी गभर्नर डा मोहम्मद हबिबुर रहमान, माल्दिभ्स मनिटरी अथोरिटीका डेपुटी गभर्नर इमाद अहमद, सेन्ट्रल बैंक अफ पाकिस्तानका कार्यकारी निर्देशक स्येद समर हुसैन, बंगलादेशको अर्थ मन्त्रालयका सहसचिव कमरुल हक मारुफ सहभागी थिए।
सार्फीका सदस्य संस्थाका तर्फबाट सार्फी चार्टर संशोधन, सार्फी अन्तर्गतको ‘एक्पर्ट ग्रुप अन फाइनान्सियल इन्क्लुजन पोलिसीको कार्यका सर्तलगायतका विषयमा अवधारणा प्रस्तुत गरिएको थियो।
बैठकले सार्फीमार्फत सन् २०२५ मा सञ्चालन हुने वार्षिक कार्ययोजनालाई पनि स्वीकृत गरेको राष्ट्र बैंकले जनाएको छ।