काठमाडौं। गत वर्षको तुलनामा नेपालबाट हुने निर्यातमा उल्लेख्य सुधार आएको छ। चालू आर्थिक वर्ष २०८१/८२ को माघसम्ममा नेपालबाट कूल १ खर्ब २७ अर्ब २० करोड रुपैयाँको वस्तु तथा निर्यात भएको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा ४६.५० प्रतिशतले बढी हो।
गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा भने कूल ८६ अर्ब ८३ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको थियो। भन्सार विभागको तथ्यांकअनुसार ७ महिनामा नेपालबाट सबैभन्दा बढी सोयाबिन तेल रहेको छ।
माघसम्म नेपालबाट ३२ अर्ब ४१ करोड ६१ लाख रुपैयाँ बराबरको २७ करोड ५८ लाख केजी सोयाबिन तेल निर्यात भएको छ। यस अवधिमा नेपालबाट दोस्रो बढी निर्यात भएको वस्तुमा सूर्यमुखी तेल रहेको छ। जुन ७ महिनामा ६ अर्ब ५७ करोड ६७ लाख रुपैयाँ बराबरको निर्यात भएको छ।
यस अवधिमा २ लाख ७५ हजार लिटर सूर्यमुखी तेल निर्यात भएको हो। माघ सम्ममा ६ अर्ब ४६ करोड ८६ लाखको कार्पेट तथा टेक्सटायल, ५ अर्ब ३९ करोडको अलैँची र ३ अर्ब १८ करोडको चिया निर्यात भएको छ।
भन्सार विभागको तथ्यांकअनुसार ३ अर्ब १३ करोड रुपैयाँ बराबरको धागो, २ अर्ब ९९ करोडको फलाम तथा स्टिलको रड, २ अर्ब ९० करोडको जुटको कपडा, २ अर्ब ८२ करोडको रेडिमेट गार्मेन्ट, २ अर्ब ८२ करोडकै फाइबरको धागो, २ अर्ब ७३ करोडको कोणधारी काठ निर्यात भएको छ।
भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ७ महिनामा विभिन्न मुलुकबाट ९ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ बराबरको आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कूल ८ खर्ब ९७ अर्ब रुपैयाँको आयात भएको थियो। जनु चालू आर्थिक वर्षको तुलनामा १०.०९ प्रतिशतले कम हो।
चालू आर्थिक वर्षको माघसम्मको तथ्यांकअनुसार नेपालको व्यापार घाटा ८ खर्ब ६१ अर्ब ३८ करोड रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा ८ खर्ब ११ अर्ब ११ करोड थियो। जुन चालू आर्थिक वर्षको तुलनामा ६.२० प्रतिशतले कम हो।