काठमाडौं। काठमाडौं महानगरले सम्पदा क्षेत्र, पैदल मार्ग, भित्री सडक तथा गल्लीमा ढुंगा छाप्ने कार्यलाई तीव्र बनाएको छ। चालु आर्थिक वर्षभित्र ३२ हजार ८५१ वर्गमिटर क्षेत्रमा ढुंगा छाप्ने लक्ष्य लिइएको महानगरले जनाएको छ।
महानगरले सार्वजनिक खरिद प्रक्रियामार्फत ७ वटा प्याकेजमा ८ वटा योजना कार्यान्वयनमा ल्याएको छ। तीमध्ये ५ वटा योजना सम्पन्न भइसकेका छन्। हालसम्म सम्पन्न र निर्माणाधीन योजनाबाट १० हजार ७२९ वर्गमिटर क्षेत्रमा ढुंगा छाप्ने कार्य पूरा भइसकेको छ।
जसमा वडा नं. ८ मा पर्ने जयबागेश्वरी मार्ग (सिफल सेतो ढोकादेखि जयबागेश्वरी चोकसम्म) करिब १ हजार ४८५ वर्गमिटर रहेको छ। यसका लागि १ करोड २६ लाख ६० हजार लागत रहेको छ।
वडा नं. १२ मा पर्ने ह्युमत खोल्सापाखा, ह्युमतदेखि लगनसम्म १ हजार ८२५ वर्गमिटर रहेको छ। यसका लागि १ करोड ५४ लाख ६८ हजार खर्च हुनेछ। वडा नं. २१ को लगन चोकमा २ हजार ९२ वर्गमिटरमा १ करोड ३६ लाख खर्चमा ढंगा छाप्ने भएको छ।
वडा नं. २६ को कुमारीकृपा मार्गमा १ हजार १७ वर्गमिटरमा रहेको छ भने वडा नं. ६ मा पर्ने रामहिटी मार्गमा ५२० वर्गमिटर रहेको छ। यसको लागत ४५ लाख रहेको छ। यी योजनाका लागि महानगरले हालसम्म ४ करोड ६२ लाख ४६ हजार ६८७ रुपैयाँ भुक्तानी गरिसकेको छ।
यसबाहेक जमलदेखि असन हुँदै इन्द्रचोकसम्म ढुंगा छाप्ने कार्यअन्तर्गत कमलाछी क्षेत्रमा काम सकिएको छ। भोटाहिटी असन हुँदै इन्द्रचोकसम्मको निर्माण कार्य जारी छ भने असनदेखि वीर अस्पताल, महाबौद्ध हुँदै चित्तधर मार्ग र हनुमानढोका दरबार क्षेत्रमा विद्युत् भूमिगत गर्ने कार्यसँग समन्वय भइरहेको छ।
महानगरले विद्युत प्राधिकरणसँग सहकार्य गरी भूमिगत तारको काम सम्पन्न भएपछि मात्रै ढुंगा छाप्ने कार्य अघि बढाउने जनाएको छ। यसले स्रोत र समयको बचत हुने महानगरको भनाइ छ।