काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र बजार सहभागी लक्षित वित्तीय कारबाहीसम्बन्धी मार्गदर्शन जारी गरेको छ।
बोर्डले बिहीबार नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण नियमावली, २०८१ को नियम ६९ को उपनियम (३) बमोजिम धितोपत्र बजार सहभागीका लागि लक्षित वित्तीय कारबाही सम्बन्धी मार्गदर्शन जारी गरेको हो।
उक्त मार्गदर्शनमा नेपाल सरकार, गृह मन्त्रालयको वेबसाइटमा सार्वजनिक भएको युनाईट नेसन स्यान्सन् लिस्टमा कुनै सूचीकृत व्यक्ति, समूह वा संगठन वा सोसँग सम्बद्ध व्यक्ति, समूह वा संगठन धितोपत्र बजार सहभागीले कारोबारको तथ्यांक (डेटाबेस)मा भए वा नभएको नियमित रुपमा यकिन हुने अद्यावधिक प्रणाली स्थापना गर्नुपर्ने जनाइएको छ।
उक्त तथ्यांक (डेटाबेस)को आधारमा कुनै सूचीकृत व्यक्ति, समूह वा संगठन वा सोसँग सम्बद्ध अन्य कुनै व्यक्ति, समूह वा संगठनको कुनै सम्पत्ति वा कोष आफूसँग रहेको भएमा तत्काल उक्त सम्पत्ति वा कोष रोक्का राख्नुपर्ने मार्गदर्शनमा उल्लेख छ।
यस व्यवस्थाबमोजिम धितोपत्र बजार सहभागीले आफ्नो कार्य सञ्चालन गर्दा आतंककारी कार्य वा आमविनाशका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी निवारणसँग सम्बन्धित व्यवस्था पालना गर्नुपर्ने बोर्डले जनाएको छ।
आतंककारी कार्य वा आमविनाशका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी निवारणसँग सम्बन्धित शंकास्पद व्यक्तिका सम्बन्धमा वित्तीय जानकारी इकाईमा रिपोर्टिङ्ग गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ।