काठमाडौं। पछिल्ला केही वर्षदेखि निरन्तर बढ्दो मात्रामा रहेको सवारीसाधनको आयात यस वर्ष स्थिर देखिएको छ। पछिल्लो केही वर्ष बढ्दै गएको सवारीसाधनको आयात चालु आर्थिक वर्षमा स्थिर देखिएको हो।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ७ महिनामा विद्युतीय र डिजेल-पेट्रोल सवारीसाधन आयात गत वर्षकै हाराहारीमा देखिएको हो। समग्रमा सवारीसाधन आयात स्थिर देखिए पनि हाइब्रिड गाडीको आयात दोब्बर बढीले वृद्धि भएको छ। यसले नेपाली अटो बजारमा मंहगो सवारीसाधन प्रयोगकर्ता संख्या बढ्दै गएको देखाउँछ।
चालु आर्थिक वर्ष २०८१/८२ को ७ महिना (साउनदेखि मागसम्म)मा ८ हजार ८२८ युनिट चार पांग्रे सवारीसाधन भित्रिएका छन्। गत आर्थिक वर्षको सोही अवधिमा ८ हजार ६२४ युनिट भित्रिएको थियो। गत आर्थिक वर्षको तुलनामा यस वर्ष भित्रिएको सवारीसाधनको संख्या २०४ युनिट बढी हो।
चार पांग्रे सवारीसाधनको आयात तथा बिक्री विगतको जस्तो वृद्धि भएको छैन। यसको विपरीत घटिरहेको छ। यसको पछाडि विभिन्न कारण रहेको नाडाका अध्यक्ष करण चौधरी बताउँछन्।
‘देशको नाजुक आर्थिक अवस्थाले आम ग्राहकको क्रय क्षमता कम गरेको छ। जसका कारण धेरै महत्वपूर्ण आर्थिक निर्णय हामीले स्थगित गरिरहेका छौँ,’ अध्यक्ष चौधरी भन्छन्, ‘यसको प्रत्यक्ष असर सवारीसाधनको बिक्रीमा परेको छ। अर्को ठूलो नीतिगत समस्या भनेको इन्धनबाट चल्ने सवारीसाधनप्रति सरकारको कठोर नीति हो।’
ईभी सवारीका लागि सरकारले दिएको सुविधा प्रशंसनीय छ। यो भविष्यमा पनि कायम रहन आवश्यक छ। अहिले ईभीको बिक्री निकै राम्रो हुनुको साथै ईभीप्रति ग्राहकको विश्वास पनि बढेको छ। तर, सवारीसाधन बिक्रीलाई विगतको जस्तै कायम राख्न चाहने हो भने आईसीई भेहिकलप्रति सरकारको नीति परिवर्तन गर्नु आवश्यक रहेको उनको भनाइ छ।
विद्युतीय सवारीसाधनको आयात
चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा ६ हजार २५६ युनिट ईभी नेपाल भित्रिएका छन्। गत वर्षको तुलनामा यस वर्ष भित्रिएको ईभीको संख्या ९७ युनिट बढी हो।
भन्सार विभागको तथ्यांकअनुसार सोही अवधिमा कार, जिप र भ्यान गरी कुल १४ अर्ब ७५ करोड रुपैयाँ बराबरको ६ हजार २५६ युनिट ईभी भित्रिएका छन्। उक्त गाडी आयातबाट सरकारले ९ अर्ब ८ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा भने १५ अर्ब ४ करोड रुपैयाँ बराबरको ६ हजार १५९ युनिट आयात भएको थियो। उक्त आयातबाट सरकारले ६ अर्ब ६२ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको थियो।
नेपालमा भित्रिएका चार पांग्रे विद्युतीय सवारीसाधनमा सबैभन्दा धेरै ५० देखि १०० किलोवाट गाडी छन्। ७ महिनाको समयवधिमा ५१ किलोवाटदेखि १०० किलोवाटको ३ हजार ४९१ युनिट गाडी आयात भएका हुन्। ५० किलोवाटसम्मको २ हजार १५९ युनिट भित्रिएका छन्। यस्तै, १०१ देखि २०० किलोवाटसम्म ५९३ युनिट आयात भएका छन् भने २०० देखि माथि १३ युनिट आयात भएका छन्।
डिजेल पेट्रोल गाडीको आयात
गत आर्थिक वर्षको तुलनामा यस वर्ष ८५ युनिट बढी डिजेल पेट्रोल गाडी नेपाल भित्रिएका छन्। चालु आर्थिक वर्ष २०८१/८२ को ७ महिना (साउनदेखि माघसम्म) को अवधिमा ३ अर्ब २४ करोड रुपैयाँ बराबरको २ हजार ५३६ युनिट डिजेल पेट्रोल गाडी नेपाल भित्रिएका छन्। उक्त आयातबाट सरकारले ८ अर्ब ७ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा भने २ अर्ब ८८ करोड रुपैयाँ बराबरको २ हजार ४५१ युनिट डिजेल पेट्रोल गाडी नेपाल भित्रिएको थियो। उक्त आयातबाट सरकारले ७ अर्ब ४७ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको थियो।
हाइव्रिड गाडीको आयातमा वृद्धि
चालु आर्थिक वर्षको सात महिनाको अवधिमा प्लगइन हाइब्रिड गाडीको आयातमा भने वृद्धि भएको छ। गत आर्थिक वर्षको तुलनामा यस वर्ष प्लगइन हाइब्रिड सवारीसाधनको आयात २२ युनिटले बढेको हो। चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ३६ युनिट प्लगइन हाइब्रिड गाडी नेपाल भित्रिएका छन्।
गत आर्थिक वर्षको सोही अवधिमा भने १४ युनिट प्लगइन हाइब्रिड नेपाल भित्रिएका थिए। प्लगइन हाइब्रिडको आयातबाट सरकारले ३७ करोड ७४ लाख रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ।