काठमाडौं। पाँच तारे होटलमा उत्कृष्ट पर्फमेन्स गरिरहेको काठमाडौं म्यारियट र फेयरफिल्डले आफ्ना कर्मचारीलाई ३ करोड ४८ लाख ३९ हजार रुपैयाँ बोनसबापत वितरण गर्ने भएको छ।
एभरेष्ट हस्पिटालिटी एन्ड होटल अन्तर्गत सञ्चालित होटल म्यारियट काठमाडौंले ३ करोड १३ लाख ३५ हजार ५७० रुपैयाँ बोनस वितरण गर्न लागेको हो। त्यसैगरी, नेपाल हस्पिटालिटी एन्ड होटलअन्तर्गत सञ्चालित फेयरफिल्ड काठमाडौं म्यारियटले ३५ लाख ३ हजार ४७१ रुपैयाँ बोसन बाड्ने तयारी गरेको एभरेष्ट हस्पिटालिटी एन्ड होटलका प्रबन्ध निर्देशक गौरव अग्रवाले जानकारी दिए।
म्यारियटले गत वर्षबाट आफ्ना कर्मचारीलाई बोनस बाँड्न सुरु गरेको हो। म्यारियटले आफ्ना कर्मचारीलाई २ करोड ८० लाख रुपैयाँ बोनस वितरण गरेको थियो। यस वर्ष ३ करोड १३ लाख रुपैयाँ बाँड्ने भएको हो। फेयरफिल्डले गत वर्ष कर्मचारीलाई २० लाख रुपैयाँ बोनस वितरण गरेको थियो।
म्यारियटले नाफाको १० प्रतिशत रकम बोनस बापत वितरण गर्न लागेको अग्रवालले जानकारी दिए। विषम परिस्थिति बीच म्यारियट होटलले आफ्ना कर्मचारीलाई गत वर्षको भन्दा बढी बोनस वितरण गर्न सक्ने भएको एमएस ग्रुपका अध्यक्ष शशिकान्त अग्रवालले बताए। एमएस ग्रुपअन्तर्गत दुई होटल छन्। ‘तीन खम्बे सहयोगका कारण संकटबीच नाफा कमाउन सफल भएका हौं,’ अध्यक्ष अग्रवालले भने, ‘कर्मचारीको लगनशीलता, म्यारियटको व्यवस्थापन र लगानीकर्ताको संयुक्त प्रयासले सफलता हात परेको हो।’
कर्मचारीहरुको अथक मिहिनेतले दिलाएको सफलता र त्यसबाट प्राप्त आम्दानीको हिस्सा सेयर गर्न पाउँदा आफूलाई निकै भाग्यमानी भएको उनको भनाइ छ।
‘सञ्चालनमा आएको छोटो समयमै कर्मचारीलाई नाफा दिन सकेका छौं,’ प्रबन्ध निर्देशक अग्रवालले भने ‘तीब्र प्रतिस्पर्धाबीच कर्मचारीको अथक परिश्रमबाट नाफा बढाइएको हो।’