काठमाडौं। युरोपियन युनियन(ईयु)सँग रिस फेर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले युरोपमा बनेको एयरबसका कुनै पनि हेलिकोप्टर नेपालमा ल्याउन नदिने भएको छ।
विगत १० वर्षदेखि ईयुले नेपाली आकाशलाई कालोसूचीमा राखिरहेको अवस्थामा प्राधिकरणले त्यसको विरोधमा एयरबसका हेलिकोप्टर आयातमा प्रतिबन्ध लगाएको हो।
प्राधिकरण श्रोतका अनुसार हालसम्म नेपालमा भएका हेलिकोप्टर दुर्घटनामध्ये सबैभन्दा बढी एयरबस कम्पनीको रहेको पाइएकाले तत्कालका लागि आयातमा प्रतिबन्ध लगाएको हो।
हालसम्म भएका दुर्घटनाको अध्ययन गर्दा एयरबसका उत्पादक सुरक्षित नदेखिएकाले अन्य कम्पनीहरूको उत्पादनलाई पनि आयातमा प्रोत्साहन गर्ने उद्देश्यका साथ प्रतिबन्ध लगाएको स्रोतले जनाएको छ। युरोपियन कम्पनीका जहाज धेरै दुर्घटना हुने उल्टै नेपाललाई कालोसूची थोपरिरहने भएपछि प्राधिकरणले युरोपियन उड्डयन व्यवसायलाई रोक लगाउने निर्णय गरेको हो।

पछिल्लो समय १२ वटा हेलिकोप्टर कम्पनीमा अधिकांशले एयरबसकै उत्पादन रहेको छ। बजार प्रतिस्पर्धाका लागि सबै हेलिकोप्टर कम्पनीले एयरबसकै हेलिकोप्टर ल्याउन लागेको र एयरलाइन्सहरूले पनि एटिआर जहाज ल्याउने प्रतिस्पर्धा गर्न लागिरहेको बेला एयरबसको उत्पादनलाई रोक लगाउने प्राधिकरणले निर्णय गरेको हो।
जुन कम्पनीको उत्पादनले राम्रो प्रफमेन्स दिन्छ र सुरक्षा प्रत्याभूत गराउँछ त्यस्ता कम्पनीलाई प्रोत्साहन गर्न प्राधिकरण लागिरहेको बताउँदै एउटा कम्पनीको मात्र व्यापार हव हुनबाट जोगाउन खोजिएको जनाएको छ।
युरोपियन कम्पनीमै निर्भर भएर उड्डयन सेवा चलिरहेको भए पनि नेपालको उड्डयनलाई कालोसूचीमा यथावत राखेपछि प्राधिकरणले असन्तुष्टि जनाउँदै आएको छ।
युरोपियन युनियनले नेपालको उड्डयन क्षेत्रलाई विगत एक दशकदेखि कालोसूचीमा राख्दै आएको छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले कालोसूचीबाट हटाउँदासमेत ईयूले हटाउन मानेको छैन।