काठमाडौं। विश्वको सबैभन्दा ठूलो विद्युतीय ब्राण्ड टेस्लाले अप्रिलदेखि भारतमा कार बिक्री सुरु गर्ने भएको छ। कम्पनीले जर्मनीको बर्लिन-ब्रान्डनबर्गको गिगाफ्याक्ट्रीमा बनेका कार भारतमा बिक्री गर्ने भएको हो।
विगत केही वर्षदेखि टेस्लाले भारतमा प्रवेश गर्न चाहेको चर्चा भइरहे पनि भारतमा ईभी सवारीसाधनमा लाग्दै आएको उच्च आयत शुल्कको कारण प्रवेश गरेको थिएन। टेस्लाले भारतमा सवारी साधनको आयात मूल्यको आधारमा विद्यमान दायरा १०० प्रतिशतबाट घटाएर ४० प्रतिशत पुर्याउनुपर्ने माग गरेको थियो।
तर, भारतले आयात शुल्क घटाउन नचाहेपछि टेस्लाले आफ्नो कम्पनी भारतमा नलैजाने अडान राखेको थियो। त्यसबाहेक मस्कले त्यस वर्ष सुरुमा बिक्री र आयातित कारका लागि सेवा उपलब्ध नगराएसम्म भारतमा उत्पादन कारखाना नराख्ने बताएका थिए।
गत हप्ता अमेरिकाको राजधानी वासिङटन डिसीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण हुँदा राष्ट्रपति डोनाल्ड ट्रम्प र टेस्लाका मालिक एलन मस्कसँग भेट गरेका थिए। यसको सकारात्मक प्रभाव देखिएको छ।
भारतमा टेस्ला कारको मूल्य
भारतीय बजारमा टेस्लाले आफ्नो सबैभन्दा सस्तो ईभी कार लञ्च गर्ने बताइएको छ। यसको मूल्य २५ हजार डलर (२१.७१ लाख भारु) हुन सक्ने अनुमान गरिएको छ।
कम्पनीले भारतमा पहिलो दुई शोरुम बनाउन ठाउँ तोकेको छ। रोयटर्सका अनुसार टेस्लाले नयाँ दिल्लीको अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको एरोसिटी क्षेत्रमा शोरुमको लागि ठाउँ भाडामा लिने निर्णय गरेको छ। त्यस्तै, मुम्बईमा कम्पनीले एयरपोर्ट नजिकैको बान्द्रा कुर्ला कम्प्लेक्समा एउटा ठाउँ छनोट गरेको छ।
भारतको बजेटमा ४० हजार डलरभन्दा बढी मूल्यका आयातित गाडीमा लाग्ने आधारभूत भन्सार महसुल १०० प्रतिशतबाट घटाएर ७० प्रतिशतमा झारेको छ। भारतमा अहिले बाहिरबाट आउने ईभी कारमा ७० प्रतिशत आधारभूत भन्सार महसुल लगाइएको छ।
तर, यदि कम्पनीले केन्द्रसँग एमओयूमा हस्ताक्षर गरे ३५ हजार डलरभन्दा माथिका कारमा भन्सार महसुल १५ प्रतिशत हुनेछ। कम्पनीले वार्षिक ८ हजारभन्दा बढी कार बिक्री नगरेमा मात्र यो छुट हुनेछ। यस्ता कम्पनीले ५ वर्षभित्र भारतमा उत्पादन सुरु गर्नुपर्ने छ। तर, यी नीति परिवर्तन गर्ने चर्चा भइरहेको छ। मार्च अन्त्यसम्म नयाँ नीति आउन सक्ने अपेक्षा गरिएको छ।
टेस्लाले भारतीय बजारमा महिन्द्रा ई ६, टाटा कर्भ ईभी र हुण्डाई क्रेटा ईभीसँग प्रतिस्पर्धा गर्ने छ। यी तीन ईभी कार भारतमा २५ लाख भारुभन्दा कम मूल्यका हुन्।