काठमाडौं। दुई नागरिकता किर्ते गरेको र हदबन्दीको जग्गा बेचेको आरोप लागेका ठुङरम ग्याल्टुल शेर्पा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रभावमा पारेर उम्किने प्रयासमा छन्।
ललितपुरको लामाटारस्थित टुंगरम इन्टरनेसनल एकेडेमी (टीआईए) नामक विद्यालयकाे १४० रोपनी जग्गामध्ये हदबन्दीमा पर्ने २१ रोपनी दुईवटा कम्पनीलाई बिक्री गरेको पाइएपछि उनी अख्तियारको छानबिनमा छन्।
मालपोत कार्यालयले अख्तियारलाई थप अनुसन्धानका लागि फाइल नै पठाएको थियो। केही कर्मचारीलाई सोधपुछ गरिए पनि मुख्य योजनाकार ठुङरमविरुद्ध कुनै कारबाही अघि बढाइएको छैन। ठुङरमले अख्तियारका आयुक्त सुमित्रा अमात्यमार्फत मुद्दा मिलाउन दबाब दिइरहेको स्रोतको दाबी छ। उनै आयुक्त अमात्यले सीआईबीलाई शेर्पाविरुद्ध अनुसन्धान नगर्न दबाब दिएको सीआईबी स्रोतले क्यापिटल नेपाललाई जानकारी दियो।
हदबन्दीको जग्गा बिक्री गरेको प्रमाण स्पष्ट भए पनि अख्तियारले ठुङरमविरुद्ध कारबाही नगर्नु शंकास्पद रहेको जानकार बताउँछन्। प्रमाणसहित फाइल अघि बढेपछि कारबाही हुनुपर्ने हो। तर, अख्तियारले केही कर्मचारीलाई स्पष्टीकरण सोधेर ठुङरमलाई जोगाउने प्रयास गरिरहेको आरोप लागेको छ।
आयुक्तले अमात्यले पहिला जग्गा कसले किनेको हो, अनुसन्धान र कारबाही उतै गर्नुपर्ने तर्कसहित अनुसन्धान अधिकारीलाई निर्देशन दिए पनि पछि प्रमुख आयुक्त प्रेम राईकहाँ सबै प्रमाण पुगेपछि जग्गा खरिद गर्नेभन्दा पहिला बिक्री गर्ने शेर्पाका विषयमा अनुसन्धान गर्नुपर्ने जिकिर गरेका थिए। तर, अमात्यले त्यसमा पनि ढिलासुस्ती गरिरहेकी छिन्।

दुई नागरिकता भेटियो, तर कारवाही प्रक्रिया भएन
शेर्पाले टुंगरम इन्टरनेसनल एकेडेमी (टीआईए) को २९ रोपनी जग्गा बिक्री गर्दा आफ्नै हस्ताक्षर किर्ते भएको दाबी गर्दै प्रहरीमा उजुरी दिएका थिए। तर, सीआईबीले अनुसन्धान गर्दा उल्टै उनले दुईवटा नागरिकता र पासपोर्ट लिएको तथा ती कागजात प्रयोग गरी विभिन्न कम्पनी खोलेको प्रमाण फेला परेको थियो।
प्रमाण भए पनि सुरुमा सीआईबीले अनुसन्धान गर्ने बताए पनि अहिले लेनदेनको विषय मात्र भएको बताउन थालेको छ।
विद्यालयको २९ रोपनी जग्गाको विवादबारे उच्च अदालत पाटनमा रिट दायर भएपछि प्रहरीले अनुसन्धान थालेको थियो। सोही क्रममा २०७४ पुस २५ गतेको सञ्चालक समितिको निर्णयअनुसार भक्तपुरको सूर्यविनायक नगरपालिका, दधिकोटस्थित जग्गा ‘बिरुवा ल्यान्ड डेभलपर्स प्रालि’लाई बिक्री गर्ने निर्णय भएको पाइएको छ। याे निर्णयमा सञ्चालक अध्यक्ष ठेल्कर रिन्पोछे शेर्पा, सञ्चालक सदस्य ठुङरम ग्याल्टुल शेर्पा र कर्मा छेरिङ शेर्पाको हस्ताक्षर रहेको छ।
आन्तरिक लेनदेन नमिल्दा ठुङरमले आफ्नो हस्ताक्षर किर्ते गरी कर्माले जग्गा बिक्री गरेको भन्दै अदालत र प्रहरीमा निवेदन दिएका थिए। तर, प्रहरी अनुसन्धानका क्रममा उल्टै ठुङरमले किर्ते गरेर दुईवटा नागरिकता र दुईवटा पासपोर्ट लिई विभिन्न कम्पनी खोलेको र रहस्यमय रूपमा कारोबार गरिरहेको प्रमाण भेटिएको छ।
सीआईबी र अख्तियारमा ठुङरमका स्थानीय सहयोगी आरसी बालाहा श्रेष्ठले मिलाउने भन्दै धाइरहेको सीआईबीका एक अनुसन्धान अधिकृत बताउँछन्। केही साताअघि आरसीसँगै पुगेका अर्काे युवा राधाकृष्ण श्रेष्ठले सीआईबीबी कार्यालय परिसरमै अभद्र व्यवहार गरेपछि प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो।