काठमाडौं। प्रत्येक सेयर कारोबारमा लाग्ने २५ रुपैयाँ धितोपत्र हस्तान्तरण शुल्क (डिपी फी) महँगो भएको भन्दै लगानीकर्ताले आलोचना गरिरहेका छन्। धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली, २०६८ (सातौं संशोधन २०८० पुस १२) बमोजिम निक्षेप सदस्यले हितग्राहीसँग धितोपत्र हस्तान्तरण शुल्क भनेर प्रतिहस्तान्तरण २५ रुपैयाँ लिने व्यवस्था छ।
धितोपत्र हस्तान्तरण भन्नाले धितोपत्रको खरिद वा बिक्री भएको अवस्थामा हितग्राहीको खाताबाट घटाउने वा खातामा जम्मा गर्ने कार्यलाई बुझिन्छ। जसअनुसार लगानीकर्ताले प्रति कारोबार २५ रुपैयाँ बुझाउँदै आएका छन्। उक्त शुल्क महँगो भएको भन्दै लगानीकर्ताले घटाउनुपर्ने विषय पटकपटक राख्दै आएका छन्। यद्यपि, यस विषयमा नियामक नियकाले चासो नदेखाएको आरोप लगानीकर्ताको छ।
साधारण लगानीकर्ता संघ नेपालका अध्यक्ष ऋतुजंग जिसी निकै कम लिँदा हुने ठाउँमा २५ रुपैयाँ डिपी शुल्क लिएर लगानीकर्तालाई ठग्ने काम भएको बताउँछन्। ‘लगानीकर्ताले प्रत्येक कारोबारमा बुझाउनुपर्ने २५ रुपैयाँ एकदमै धेरै हो। यो रकम दुई÷चार रुपैयाँ वा न्यून राख्दा पनि हुन्छ,’ जिसी भन्छन्, ‘तर, वर्षौंदेखि लगानीकर्ताबाट ठुलो रकम उठाउने काम भइरहेको छ, जुन कतिपनि उचित छैन।’
उनले नेपाल धितोपत्र बोर्ड (सेबोन), नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई यो शुल्क अधिक भएको विषय पटकपटक राख्दा पनि सुनुवाई नभएको बताए। ‘हामीले सेबोन तथा नेप्सेका अधिकारीहरुसँगको भेटमा यो शुल्क महँगो भएको विषय बारम्बार राख्दै आएका छौं,’ जिसी भन्छन्, ‘तर, यस विषयमा खासै चासो दिइएको दिइँदैन। लगानीकर्ताकाले अनावश्यक भार बेहोर्नुपरेकाले यसलाई जतिसक्दो छिटो कम गर्नुपर्छ।’
अहिले सबै अनलाइनबाट काम भएर लागत कम हुँदा पनि खर्च भने बढी लिइएको लगानीकर्ताको तर्क छ। प्रविधिको विकास र प्रयोगसँगै लागत कम हुनुपर्नेमा त्यसो नहुने उचित नभएको लगानीकर्ताको आरोप छ।
उनी केही रुपैयाँ मात्रै लाग्नुपर्नेमा शुल्क अधिक लिएर लगानीकर्ता ठगिएको बताउँछन्। यो लगानीकर्तामाथि एक प्रकारको नीतिगत लुटपाट रहेको उनको तर्क छ। हुन त, पहिला स्वयम् व्यक्ति सहभागी भएर सेयर हस्तान्तरण गर्दा खर्च लाग्थ्यो, कर्मचारी आवतजावत गर्नुपर्ने हुन्थ्यो। म्यानुअल कागजमा काम गर्नुपर्ने हुन्थ्यो जसले गर्दा खर्च लाग्थ्यो।
तर, अहिले सबै अनलाइनबाट काम भएर लागत कम हुँदा पनि खर्च भने बढी लिइएको लगानीकर्ताको तर्क छ। प्रविधिको विकास र प्रयोगसँगै लागत कम हुनुपर्नेमा त्यसो नहुने उचित नभएको लगानीकर्ताको आरोप छ। नेपाल स्टक एक्सचेञ्ज नेप्सेका अनुसार माघ २३ गतेदेखि फागुन ६ गतेसम्मको १० कारोबार दिनमा कुल ८ लाख ६३ हजार ८७१ पटक सेयर खरिदबिक्री भएको छ।
उक्त सेयर खरिदबिक्रीबाट २५ रुपैयाँ प्रति कारोबारका दरले कुल २ करोड १५ लाख ९६ हजार ७७५ रुपैयाँ डिपी शुल्क लगानीकर्ताले बुझाएका छन्। फागुन ६ गते मात्रै नेप्सेमा कुल १० अर्ब ३७ करोड रुपैयाँ बराबरको कारोबार हुँदा ९८ हजार ५२७ पटक सेयर किनबेत भएको थियो। उक्त किनबेचबाट मात्रै डिपी शुल्कबापत् लगानीकर्ताले २२ लाख ४५ हजार २५ रुपैयाँ बुझाएका छन्।
नेप्सेमा जति धेरै पटक कारोबार हुन्छ त्यतिनै मात्रामा लगानीकर्ताले बुझाउने डिपी शुल्क पनि बढेर जान्छ। जस्तै, २०८१ साउन ३१ गते नेप्सेमा हालसम्मकै उच्च अर्थात् ३० अर्ब हाराहारीको कारोबार हुँदा उक्त दिन ३ लाख ५ हजार १८८ पटक सेयर खरिदबिक्री भएको थियो। उक्त सेयर किनबेचबापत् एकै दिन लगानीकर्ताबाट ७६ लाख २९ हजार ७०० रुपैयाँ डिपी शुल्क उठेको थियो।
नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे हाल लिइँदै आएको डिपी शुल्क एकदमै महँगो भएको उल्लेख गर्दै पाँच रुपैयाँ हाराहारीमा सीमित गर्नुपर्ने बताउँछन्। ‘आज सबै काम एक क्लिकको भरमा हुन्छ। पहिलाको जस्तो खर्चिलो प्रक्रिया पनि छैन। यस्तो अवस्थामा प्रत्येक पटकको कारोबारमा सिडिएससीलाई २५ रुपैयाँ बुझाउनुपर्ने प्रावधान न्यायोचित देखिँदैन,’ पाण्डे भन्छन्, ‘यो शुल्क कम गर्न हामीले सेबोनलाई पटकपटक ध्यानाकर्षण गराउँदै आएका छौं।’
उनले आईपिओ परेर बिक्री गर्ने व्यक्ति, साना लगानीकर्तालाई महँगो डिपी शुल्कले बढी घाटा पुग्ने गरेको सुनाए। यसलाई नियामक निकायले छिटोभन्दा छिटो संशोधन गरेर कम शुल्क लिने व्यवस्था गर्नुपर्ने पाण्डेको माग छ। त्यसो त, निक्षेप सदस्यले हितग्राहीसँग हस्तान्तरण शुल्क मात्र नभई खाता खोल्दा ५०, वार्षिक शुल्क १००, भौतिकीकरण शुल्क ५०, धितो बन्धकी शुल्क ५० र खाता रोक्का शुल्क २५ रुपैयाँ लिने गर्दछन्।
त्यसो त, निक्षेप सदस्यले हितग्राहीसँग हस्तान्तरण शुल्क मात्र नभई खाता खोल्दा ५०, वार्षिक शुल्क १००, भौतिकीकरण शुल्क ५०, धितो बन्धकी शुल्क ५० र खाता रोक्का शुल्क २५ रुपैयाँ लिने गर्दछन्।
यी शुल्क कतिपय वार्षिक र कतिपय एक पटक मात्र लिने भएकाले खासै चासो नदिइए पनि डिपी शुल्क भने प्रत्येक कारोबारमा लिइने भएकाले कम गर्नुपर्ने आवाज लगानीकर्ताले उठाएका हुन्। यस्तै, नियामक तथा पुँजी बजारसँग सम्बिन्धित निकायमा लगानीकर्ताबाट विभिन्न शुल्कको नाममा ठुलो रकम जाने भएपनि सेवा प्रवाह भने गुणस्तरीय बन्न नसकेको आवाज पनि उठ्ने गरेको छ। विभिन्न नाममा लगानीकर्ताबाट लिइने शुल्क सेवा सुधारमा लगाउनुपर्ने लगानीकर्ताको माग छ।
नेपाली सेयर बजारमा कहिलेकाहीँ सेयर बिक्रीमा राख्न नमिल्ने, कहिले खरिद गर्न नमिल्ने, कुनै समय मेरो सेयर नै नचल्नेजस्ता समस्या पटकपटक आउँदा लगानीकर्ताले चाहेका बेला खरिदबिक्री गर्न नपाउने अवस्था सिर्जना भएको पाइन्छ। लगानीकर्ताबाट उठाइएको डिपी शुल्कले नै कतिपय कम्पनी राम्रोसँग चलिरहे पनि प्रणालीगत सुधारमा भने कहीँ-कसैको ध्यान नगएको गुनासो लगानीकर्तामा रहेको छ।