काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति कार्यालयमा फर्केपछि जारी गरिएका कार्यकारी आदेशको कार्यान्वयनमा डलर अर्बपति एलन मस्कको उत्साहको प्रशंसा गरेका छन्। उनले मस्कलाई आफ्नो प्रमुख कार्यान्वयनकर्ताका रूपमा चित्रित गरे।
फक्स न्युजमा प्रसारण गरिएको संयुक्त अन्तर्वार्तामा यी दुई व्यक्तिले एकआपसको प्रशंसा गरे। ट्रम्पले पछिल्लो तीन हप्तामा दर्जनौँ कार्यकारी निर्देशनमा हस्ताक्षर गरेका छन्। तीमध्ये धेरै संविधानविपरीत हुनसक्ने भनेर अदालतमा उजुरी परेको छ।
सन् २०२४ को राष्ट्रपतिको चुनावी अभियानमा ट्रम्पका शीर्ष दाता रहेका मस्कलाई संघीय खर्चमा ‘फजुल खर्च, धोखाधडी र दुरुपयोग’ उन्मूलन गर्ने घोषित लक्ष्यका साथ नवनिर्मित सरकारी दक्षता विभाग (डिओजिई)को नेतृत्व गर्ने जिम्मेवारी दिइएको थियो।
‘डिओजिईको सबैभन्दा ठूलो काम भनेको राष्ट्रपतिको कार्यकारी आदेश कार्यान्वयन गर्न सुनिश्चित गर्नु हो,’ मस्कले फक्स न्युजसँग भने।
अन्तर्वार्तामा ट्रम्पले आफ्ना नीतिहरू कार्यान्वयन गरिनुपर्नेमा जोड दिए। मस्क तिनलाई अगाडि बढाउनमा महत्त्वपूर्ण रहेको बताए।
राष्ट्रपति एलन ?
ट्रम्प प्रशासनमा मस्कको प्रमुख भूमिकाले ह्वाइट हाउसमा वास्तवमा कसको नियन्त्रण छ? भन्ने सार्वजनिक प्रश्न उठेको छ। यद्यपि, रिपब्लिकन राष्ट्रपतिले दुई जनाबीच खराब सम्बन्धको अफवाहलाई तुरुन्तै खारेज गरेका थिए।
‘वास्तवमा एलनले मलाई फोन गर्नुभयो, उहाँले भन्नुभयो, ‘तपाईंलाई थाहा छ, तिनीहरूले हामीलाई अलग गर्ने प्रयास गरिरहेका छन्,’ ट्रम्पले भने, ‘मैले भनेँ, बिल्कुल।’
ट्रम्पले आफू र मस्कबीचको सम्बन्ध बिगार्ने प्रयासबाट अमेरिकी मूर्ख नबन्ने विश्वास व्यक्त गरे।