काठमाडौं। होटल तथा पर्यटन समूहका सात कम्पनीले ३ करोड ५३ लाख ६० हजार कित्ता प्रारम्भिक निष्कासन (आईपीओ) प्रस्तावसहित नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएका छन्।
सेबोनमा निवेदन दिएका सात कम्पनीले ३ अर्ब ३१ करोड १० लाख रुपैयाँ बराबरको आईपीओ सार्वजनिक गर्ने प्रस्तावसहित आवेदन दिएका हुन्।
सेबोनका अनुसार अन्नपूर्ण केबलकारले ३१ लाख कित्ता आईपीओ सार्वजनिक गर्ने प्रस्तावसहितको आवेदन सेबोनमा पेस गरेको छ। कम्पनीको आईपीओ बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ।
यस्तै, बन्दीपुर केबलकार एन्ड टुरिजमले ३० लाख ६० हजार कित्ता आईपीओ सार्वजनिक गर्न सेबोनसँग अनुमति मागेको छ। बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।
सेबोनका अनुसार अकामा होटलले ५० रुपैयाँ अंकित दरमा ४५ लाख कित्ता आईपीओ प्रस्ताव गर्दै निवेदन पेस गरेको छ। कम्पनीको आईपीओ बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ।
यस्तै, एपेक्स हस्पिटालिटीले १०० रुपैयाँ अंकित दरमा २४ लाख कित्ता आईपीओ निष्कासन गर्ने योजना बनाएको छ। कम्पनीको आईपीओ बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ।
यसैगरी होटल फरेस्ट इनले १०० रुपैयाँ अंकित दरमा ९८ लाख कित्ता आईपीओ सार्वजनिक गर्न सेबोनमा निवेदन दिएको छ। कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।
सेबोनका अनुसार अर्किड होल्डिंग्सले १ लाख १५ हजार कित्ता आईपीओ ल्याउने अनुमति मागेको छ। यसको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ।
ठमेल प्लाजा होटल एन्ड स्वीटस्ले १०० रुपैयाँ अंकित दरमा १० लाख कित्ता आईपीओ सार्वजनिक गर्न सेबोनमा निवेदन दिएको छ। कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।