काठमाडौं। सरकारले आगामी वर्ष २०८२ फागुनदेखि आर्थिक गणना सञ्चालन गर्ने भएको छ। पहिलोपल्ट २०७५ वैशाखमा गरिएको आर्थिक गणना १२ वर्षपछि आगामी वर्षको फागुनमा गरिने जानकारी राष्ट्रिय तथ्यांक कार्यालय (केन्द्रीय तथ्यांक विभाग)ले दिएको हो।
आर्थिक गणनाका लागि देशभर अभियान सञ्चालन गरिने विभागले बताएको छ।
आर्थिक गणनामा खटिएका गणकले संघ, प्रदेश तथा स्थानीय तहसम्म प्रतिष्ठान तथा व्यवसायको व्यावसायिक क्रियाकलापसम्बन्धी आधारभूत तथ्यांक संकलन गर्नेछन्। यस्तै, व्यावसायिक प्रतिष्ठानको कुल संख्या, प्रतिष्ठानको वैधानिक स्थिति, वैदेशिक पुँजीको लगानी, कुल स्थिर सम्पत्तिमा भएको लगानीलगायत विषयमा सर्वेक्षण गर्ने उद्देश्यसहित आगामी वर्षको फागुनदेखि आर्थिक गणना सुरु गर्न लागिएको कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी एवं प्रवक्ता डा. हेमराज रेग्मीले बताए।
उनले भने, ‘आर्थिक गणनामा लिंगअनुसार रोजगारी स्थिति, प्रतिष्ठानको ऋणमा पहुँचलगायतका सूचक पत्ता लगाउन गणकलाई खटाइनेछ।
आर्थिक गणना अभियानमा गैरकृषि आर्थिक क्रियाकलाप सञ्चालन गर्ने सबै प्रकारका प्रतिष्ठान र कृषि क्षेत्र भनेर दर्ता गरिएका प्रतिष्ठान, औद्योगिक वर्गीकरणअनुसारका विभिन्न वस्तु तथा सेवा उत्पादन गर्ने प्रतिष्ठान र व्यवसायलाई गणनामा समावेश गरिनेछ।’
यस्तै, निश्चित स्थानमा आर्थिक क्रियाकलाप सञ्चालन गर्ने स्थिर प्रवृत्तिका प्रतिष्ठानलाई पनि आर्थिक गणनाको परिधिमा समेटिने प्रवक्ता रेग्मीले जानकारी दिए।
दोस्रो आर्थिक गणनापछि तथ्यांककै आधारमा योजना तर्जुमा तथा नीति निर्माण हुने भएकाले सरकारलाई आर्थिक क्रियाकलापका रणनीति बनाउन सहजन हुने उनको भनाइ छ। सोहीअनुसार गणक व्यवस्थापन गरेर सम्बन्धित प्रतिष्ठानमै पुगेर गणना गरिनेछ।
तथ्यांक ऐन, २०७९ अनुसार हरेक क्षेत्र र वर्गबाट संकलित आर्थिक विवरण गोप्य रहनेछ। यसअघि २०७५ वैशाख १ देखि तत्कालीन अर्थमन्त्री युवराज खतिवडाका पालामा पहिलोपल्ट आर्थिक गणना गरिएको थियो।
आर्थिक गणनालाई सफल बनाउन विभागले ७७ जिल्लामै २०७४ चैत १ गतेदेखि ४ महिनाका लागि जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरेको थियो भने सुपरिवेक्षक तथा गणकलाई तालिम दिएर आ–आफ्नो कार्यक्षेत्र खटाइएको थियो। आर्थिक नीति तर्जुमा तथा योजना निर्माणका लागि ‘राष्ट्रिय आर्थिक गणनालाई आधार मानिने गरेको छ।
२०७५ काे आर्थिक गणनामा वित्तीय तथा बिमा, सूचना सञ्चार, कृषि, वन, माछापालान, खानी उत्खननलगायतका २१ वटा आर्थिक वर्गीकरणका सूचक समावेश गरिए पनि विभिन्न १८ वटा सूचकमा आर्थिक गणना गरिएको थियो। विभागले पहिलोपल्ट गरेको राष्ट्रिय आर्थिक गणना–२०७५ को नतिजा असार १६ मा तत्कालीन राष्ट्रिय योजना आयोग उपाध्यक्ष डा. पुष्पराज कँडेलले सार्वजनिक गरेका थिए।
उक्त प्रतिवेदनमा नेपालमा सञ्चालित प्रतिष्ठानको संख्या ९ लाख २३ हजार ३५६ रहेको उल्लेख थियो। देशभर ४ लाख ६० हजार भन्दा बढि प्रतिष्ठान दर्ता नभई सञ्चालनमा रहेको तथ्यांक गणनामा उल्लेख थियो।
आर्थिक गणनामा देशभर सञ्चालित प्रतिष्ठानमध्ये ५४ प्रतिशत व्यवसाय थोक तथा खुद्रा व्यापारमा आधारित रहेको विवरण सार्वजनिक गरिएको थियो। औद्योगिक उत्पादनले करिब १२ प्रतिशत, सेवा क्रियाकलापमा कार्यरत प्रतिष्ठानले करिब ७ प्रतिशत रोजगारी सृजनामा योगदान दिएको विवरण सार्वजनिक गरिएको थियो।
देशभर सञ्चालित व्यावसायिक प्रतिष्ठानमध्ये ८ लाख १७ हजार नेपाली नागरिकले र ९ हजार ९ सय ३२ वटा प्रतिष्ठान भारतीय नागरिकले सञ्चालन गरेको आर्थिक गणनामा समावेश थियो।