काठमाडौं। आठौं ‘इन्डियन ओसन कन्फ्रेन्स’ तथा द्विपक्षीय बैठकमा सहभागी हुन ओमान भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको उपस्थितिमा ओमानलगायत खाडी समन्वय परिषदको नेपाली नियोगका प्रमुखसँग छलफल गरेकी छन्।
ओमानस्थित नेपाली दूतावासले नेपाली नियोगका राजदूत, कार्यवाहक महावाणिज्यदूत, नियोग उपप्रमुख, श्रम काउन्सेलर तथा श्रम सहचारीलगायत नियोगमा कार्यरत पदाधिकारी तथा कर्मचारीको सहभागितामा ‘भर्चुअल’ बैठक गरेको हो।
बैठकमा महिला घरेलु कामदारलगायत नेपाली श्रमिकको उद्धार, सहायता, स्वदेश फिर्ती, बिमा तथा क्षतिपूर्ति, आश्रयस्थल व्यवस्थापन, शव व्यवस्थापनलगायत श्रमिकसँग सम्बन्धित समस्या एवं समाधानका उपाय, प्रभावकारी सेवा प्रवाहमा देखिएका चुनौती र समाधानका उपायबारे छलफल भएको थियो।
दूतावासका अनुसार बैठकमा आर्थिक, सांस्कृतिक तथा सार्वजनिक कूटनीतिका विविध आयाम, व्यापार, लगानी, पर्यटन, संस्कृति, भाषा, वेशभूषा, तथा रोजगार प्रवद्र्धन, जनस्तरको सम्बन्ध विस्तार, नेपाली समुदाय तथा सामाजिक सङ्घसंस्थासँगको सहकार्य तथा नेपाली नियोगमा उपलब्ध स्रोतसाधनको प्रभावकारी व्यवस्थापन तथा उपयोगलगायत विषयमा विस्तृत रूपमा छलफल भएको थियो।
छलफलमा प्राप्त सुझावलाई समावेश गरी उठान भएका विषयउपर परराष्ट्र मन्त्रालय र अन्य सरोकारवाला निकायबाट उपयुक्त निर्णयका लागि सिफारिस गर्ने निर्णय भएको दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ।
परराष्ट्रमन्त्री देउवाले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित, मर्यादित, भरपर्दो बनाउने सरकारको नीति बताउँदै यो महत्त्वपूर्ण उद्देश्य हासिल गर्न विदेशस्थित नेपाली नियोगको प्रमुख भूमिका हुने भएकाले लागि सबैले तदारूकताका साथ कार्यसम्पादन गर्न निर्देशन दिइन्।
विदेशमा कार्यरत नेपाली श्रमिकका समस्या पहिचान गरी समाधानका उपाय अवलम्बन गर्न सरोकार भएका सबै निकाय सक्रिय हुनुपर्ने र दीर्घकालीन रूपमा समस्या समाधान गरी यस क्षेत्रलाई आकर्षक बनाउनुपर्नेमा उनले जोड दिइन्।
दूतावासका अनुसार परराष्ट्रमन्त्रीले ‘डिजिटल’ सुशासन कायम गर्ने सरकारको नीतिबमोजिम मागपत्र प्रमाणीकरणलगायत नियोगको सेवा प्रवाहलाई मितव्ययी, सरल, पारदर्शी, प्रभावकारी तथा सूचना प्रविधिमैत्री बनाउन निर्देशन दिइन्।
‘नेपालको समग्र विकासका लागि आर्थिक कूटनीति प्रवर्द्धनमा नियोगहरुले विशेष सक्रियता देखाउन तथा सम्बन्धित मन्त्रालयले आवश्यक सहजीकरण गर्न अपरिहार्य छ। यस सम्बन्धमा कुनै व्यवधान देखिए बाधा अड्काउ फुकाउन मन्त्रालय तत्पर छ’, उनले भनिन्।
बैठकपछि परराष्ट्रमन्त्री देउवाले ओमानस्थित नेपाली सङ्घसंस्थाका प्रतिनिधि, राजदूतावासका स्वयंसेवक तथा नेपाली समुदायका अगुवासँग अन्तरक्रिया गरिन्।
सरकारले नेपाली श्रमिकको हकहित र सेवासुविधाको सुरक्षा एवं प्रवर्द्धनका लागि आवश्यक नीतिगत, संस्थागत तथा कानुनी संरचना निर्माण तथा नियमित परिमार्जन गरिरहेको जानकारी पनि उनले दिइन्।