काठमाडौं। नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको दसौं संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ।
फागुन ८ देखि ११ सम्म भृकृटीमण्डपमा आयोजना हुने प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको आयोजकले विज्ञप्तिमार्फत जनाएको हो।
यो प्रदर्शनीमा विभिन्न देशका ३०० बढी ख्यातिप्राप्त ब्रान्डका १५० बढी स्टल रहनेछन् । निर्माणसम्बन्धी उद्योग, कम्पनी, डिलर तथा सब डिलर र बिक्रेताले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनबारे जानकारी गराइनेछ।
यस क्षेत्रमा आइरहेका नयाँ–नयाँ प्रविधिबारे जानकारी गराउन प्रदर्शनी ९ वर्षदेखि सञ्चालन गरिँदै आएको छ। अन्तर्राष्ट्रिय प्रदर्शनीमा कन्स्ट्रक्स म्याटेरियल्स, केमिकल्स, मेसिनरी, प्रि–फ्याब स्ट्रक्चर, यूपीभीसी विन्डोज् मेसिनरी, आर्किटेक्चरल हार्डवेयर, बाथरुम फिटिंग्सलगायतको सहभागिता रहनेछ।
मिडिया स्पेस सोलुसन्स र फ्युचरएक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिले संयुक्त रुपमा प्रदर्शनी आयोजना गरेका हुन्। प्रदर्शनीमा निर्माण व्यवसायसँग सम्बन्धित उत्पादन र नवीनतम प्रविधि प्रमुख आकर्षणका रुपमा रहनेछन्।
प्रदर्शनीमा निर्माण क्षेत्रमा काम गरिरहेका नेपालका दिग्गज आर्किटेक्ट, इन्जिनियर, कन्ट्रयाक्टर, बिल्डर, इन्टेरियर डिजाइनरको उल्लेख्य सहभागिता रहनेछ। निजी घर बनाउन चाहने, व्यापारिक कम्प्लेक्स, व्यावसायिक भवन बनाउने व्यक्ति तथा संस्थाका साथै सर्वसाधारणको पनि सहभागिता रहनेछ।
प्रदर्शनीको टाइटल स्पोन्सर लुम्बिनी सेरामिक्स, सहयोगी संस्थामा एफक्यान, स्क्याफ, सोना, आइडिया रहेका छन्।