काठमाडौं। दुर्गम हिमाली जिल्ला ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म आम तीर्थयात्री तथा पर्यटकको सहज पहुँच बनाउन निर्माणाधीन केबुलकारको काममा केही व्यक्तिले अवरोध गर्न खोजेको भन्दै जिल्ला सदरमुकाममा वृहत् जनप्रदर्शन गरिएको छ।
स्थानीयबासीले केबुलकारको पक्षमा रहेको, ताप्लेजुङको विकास रोक्न बाहिरी र असम्बन्धित व्यक्ति लागेको भन्दै आक्रोशित हुँदै छिटो केबुलकार निर्माण गर्न कम्पनीलाई आग्रह गरेका हुन्।
उनीहरुले लगानीमैत्री वातावरण सृजना गर्न सरकारलाई आग्रह गर्दै विभिन्न प्लाकार्ड र व्यानरसहित सदरमुकाम फुङलिङमा विशाल प्रदर्शन गरेका थिए। ताप्लेजुङको विकास र सम्मृद्धि रोक्न जिल्ला बाहिर र बसाई सरी अन्यत्र पुगेका मान्छेलाई नलाग्नसमेत उनीहरुले आग्रह गरे।
ताप्लेजुङ विकास प्रेमी युवा समाजको आयोजनामा गरिएको विशाल प्रदर्शनमा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, नागरिक समाज तथा विभिन्न संघसंस्थाको उपस्थिति रहेको थियो।
पाथीभरामा केबलकार बनाउँदा मन्दिरको ऐतिहासिकता र पहिचान गुम्ने भन्दै केही व्यक्तिले विरोध गरिरहेका छन्। केबलकार निर्माणको प्रशंग चार दशकअघि उठे पनि २०७२ मा पाथीभरा देवी दर्शन केवलकार प्रालिको स्थापना भएको हो।
यस आयोजनाले २०७५ सालमा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार केबलकार निर्माणको अनुमति लिएको थियो।
करिब दुई वर्षअघि पाथीभरा केबलकारमा आइएमई समूहको प्रवेशसँगै यो आयाजना निर्माणले गति लिन थालेको छ।
आइएमई समूहले मुलुकका सबै प्रदेशमा केबलकारसहितका पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित २०७९ सालमा यस केबलकारको ठूलो शेयर लिएर काम अगाडि बढाएको हो। कम्पनीले केबलकारका लागि आवश्यक जग्गाको भोगाधिकार प्राप्त गर्ने र नेपाल सरकारलाई सट्टा भर्ना जग्गा दिने काम सम्पन्न गरिसकेको छ।
केबलकारको अलाइनमेन्ट क्षेत्रमा पर्ने रुख कटान गर्ने र डीपीआर स्वीकृत गर्ने कामसमेत सम्पन्न भई केबलकार निर्माण कार्यको औपचारिक शिलान्यास गरी यही महिनादेखि भौतिक निर्माणको काम सुरु भएको थियो।