काठमाडौं। विद्युतीय सवारी साधान(ईभी)को ब्याट्री आयातमा ४० प्रतिशत सम्म कर लाग्दै आएको छ। जसको कारण कुनैपनि सवारीधनीले आफ्नो गाडीको ब्याट्री ड्यामेज भएमा फेर्नै सकस हुने गरेको पाइएको छ।
दिगो ग्रुप अफ कम्पनीका अध्यक्ष राजन रायामाझी ईभी ब्याट्रीमा लाग्ने भन्सार दर एकदमै महँगो भएको बताउँछन्। ‘अहिलेसम्म हामीले बिक्री गरेको ईभीको ब्याट्रीमा त्यति धेरै समस्या त आएको छैन,’ अध्यक्ष रायमाझी भन्छन्, ‘३-४ वटा ब्याट्रीमा समस्या आएको थियो। त्यो ब्याट्री यहाँबाट बाहिर पठाएर रिप्लेस गर्न एकदमै कठिन हुँदो रहेछ।’
उनका अनुसार परिवर्तनका लागि ब्याट्री मगाउँदा भन्सार २५ प्रतिशत र मूल्य अभिवृद्धि कर (भ्याट) १३ प्रतिशत छ। सिपिङ शुल्क जोड्दा ब्याट्रीको लागत लगभग ४० देखि ४५ प्रतिशत बढ्ने उनकाे भनाइ छ।
गाडीमा जडित ब्याट्री ल्याउँदा कुनै अतिरिक्त भन्सार लाग्दैन। गाडीमा जे जति कर लाग्छ, त्यही अन्तिम हो। परिवर्तनका लागि ल्याउँदा ४५ प्रतिशत लाग्ने रायमाझीको भनाइ छ। वारेन्टी समयभन्दा अगाडि ब्याट्री फेर्नुपर्दा त्यसको भार कम्पनीले बेहोर्ने भएकाले ग्राहकलाई खासै भार नपर्ने उनी सुनाउँछन्।
‘ब्याट्री वारेन्टी तथा रिप्लेसमेन्टमा ल्याउँदा एकदमै अधिक भन्सार दर पर्छ,’ रायमाझीले भने, ‘ब्याट्रीमा पनि ईभी बराबरको नै सहुलियत दिँदा राम्रो हुने हो। ईभीको लिथिएम ब्याट्री भएकाले यसको ट्रान्सपोर्टेसनमा पनि अलिकति समस्या छ। यी सबै सरकारी तहबाटै समाधान हुन्छन्।’
ईभीमा सबैभन्दा महँगो पार्टसको रुपमा ब्याट्रीलाई लिइन्छ। परिवर्तन गर्दा ब्याट्री महँगो पर्ने हुँदा ईभी प्रयोगकर्ता कम हुने भएसँगै व्यवसायीले ब्याट्री परिवर्तनमा ग्राहकलाई आर्थिक भार कम बनाउन सहजीकरण खोजी गरेका हुन्।
खासगरी ब्याट्री आयातमा लाग्ने भन्सार शुल्क महँगो हुँदा ईभी प्रयोगकर्ता मारमा पर्ने गरेको छ। नयाँ प्रयोगकर्तासमेत ईभी गाडी खरिदमा हच्किने गरेको बताइन्छ। ईभी गाडीको ब्याट्रीमा ५ देखि ८ वर्षसम्मको वारेन्टी दिइएको हुन्छ। कतिपय समयमा वारेन्टी अवधि बाँकी हुँदा ब्याट्रीमा समस्या आउने गर्दछ।
वारेन्टी अवधि बाँकी हुँदा नै ब्याट्रीमा समस्या आए त्यसलाई कम्पनीले परिवर्तन गरिदिन्छ। त्यसमा लाग्ने आर्थिक भार पनि कम्पनीले नै बेहोर्दछ। तर, वारेन्टी अवधि सकिएर परिवर्तन गर्नुपर्ने ब्याट्रीको सम्पूर्ण लागत ग्राहकले बेहोर्नुपर्ने हुन्छ। यस्तो अवस्थामा परिवर्तनका लागि ल्याइने ब्याट्रीको भन्सार बढी हुन नहुने तर्क व्यवसायीको छ।
नेपालमा रिप्लेसमेन्टको लागि ल्याउने ब्याट्रीसम्बन्धि नीति नहुँदा समस्या आएको एलआरआर ग्रुपका निर्देशक जीवनजंग शाही बताउँछन्। ‘नेपालबाट ब्याट्री लिनको लागि नीति छैन। रिप्लेसमेन्टको लागि बाहिर पठाउँदा र ल्याउँदा दुवैमा कर तिर्नुपर्छ,’ निर्देशक शाही भन्छन्, ‘पठाउँदा र ल्याउँदा डबल करले गर्दा व्यवसायीहरु मारमा परिरहेका छन्।’
इलेक्ट्रिक भेहिकल आयातमा भन्सार कम भए पनि ब्याट्रीमा एकदमै बढी भएको निर्देशक शाहीको भनाइ छ। सामान्यतयाः ५ वर्षका लागि वारेन्टी दिएको ब्याट्री वर्षमा ६० हजार किलोमिटर चलाउनु उपयुक्त मानिन्छ। यस्तो हुँदा ब्याट्रीमा समस्या आउने सम्भावना कम हुने बताइन्छ। तर, नेपालमा एक वर्षमा ९० हजारदेखि १ लाख किलोमिटरसम्म चलाउने गरेकाे पाइन्छ।
सुरु सुरुमा पुरानो प्रविधिका गाडी नै आउने मूल्य ईभीका ब्याट्रीलाई पथ्र्यो। बिस्तारै मूल्य घटेको मात्रै होइन, गाडीमा सुविधा पनि थपिएर आएका छन्। कम्पनी, ब्राण्ड र प्रविधिले पनि यसमा फरक पारेको छ। अटोमोबाइल व्यवसायीका अनुसार इभीमा ८ वर्ष ब्याट्री टिक्छ। १ लाख ६० किलोमिटर दुरी कटेपछि ब्याट्रीले ७० प्रतिशत मात्र काम गर्न थाल्छ।