काठमाडौं। आइडिया स्टुडियो नेपालले पीसीपीएस कलेजमा आफ्नो दोस्रो आइक्याफेको औपचारिक उद्घाटन गरेको छ। आइडिया स्टुडियो नेपालका संस्थापक डा. छिरिङ लामा र पीसीपीएस कलेजका कार्यकारी निर्देशक प्रकाश काज्रीवालले आइक्याफेको उद्घाटन गरेका हुन्।
नयाँ स्थानले विद्यार्थीलाई नवाचार, उद्यमशीलता र उद्योगसँग जडान गर्ने अवसर प्रदान गर्ने छ। आइडिया स्टुडियो नेपालका संस्थापक डा. छिरिङ लामाले आइक्याफे विद्यार्थीको दोस्रो घर भएको बताए। ‘आइक्याफे विद्यार्थीको दोस्रो घर हो। जहाँ उनीहरूको विचार र सिर्जनशीलतालाई वास्तविकतामा रूपान्तरण गर्न सकिन्छ,’ उनले भने।
आइक्याफेको विशेषता यसको विद्यार्थी-प्रेरित सञ्चालन मोडेल हो। जसअन्तर्गत विद्यार्थीहरूले स्वयम् क्याफे सञ्चालन गर्ने अवसर पाउने छन्। यसले विद्यार्थीलाई व्यवस्थापन, ग्राहक सेवा र वित्तीय व्यवस्थापनजस्ता सीपहरू सिक्न मद्दत पु¥याउने डा. लामाको भनाइ छ।
आइक्याफे कफी पसल मात्र नभएर, विद्यार्थी, संकाय सदस्य र उद्योगका विशेषज्ञबीच ज्ञान आदानप्रदान गर्ने स्थान पनि हुनेछ। जहाँ विद्यार्थीहरूले ताजा कफी, उच्च गतिको इन्टरनेट र बैठक तथा प्रस्तुतीकरणका लागि सुविधायुक्त वातावरण प्राप्त गर्न सक्ने सञ्चालक बताउँछन्।
त्यस्तै, काज्रीवालले आइडिया स्टुडियो नेपाललाई धन्यवाद दिँदै यसले विद्यार्थी र संकाय सदस्यहरूलाई उद्योगसँग जोड्ने महत्त्वपूर्ण अवसर दिने बताए।
पहिलो दुई शाखाहरूको सफलतापछि, आइडिया स्टुडियो नेपालले आगामी २ वर्षमा १०० कलेजमा आइक्याफेको विस्तार गर्ने लक्ष्य राखेको छ। हालसम्म १० कलेजहरूसँग सम्झौता भइसकेको छ। आइक्याफेको उद्देश्य शिक्षा र उद्योगबीचको दुरी घटाउनु हो।
आगामी महिनामा उद्यमशीलता कार्यक्रम, नेटवर्किङ सेसनहरू र उद्योगसँग सम्बन्धित छलफल आयोजना गरिने सञ्चालकले बताएका छन्। यसले विद्यार्थीलाई लगानीकर्ता र उद्योगका विशेषज्ञसँग प्रत्यक्ष रूपमा जोड्ने विश्वास आइडिया स्टुडियोको छ।