काठमाडौं। लगातार तेस्रो दिन पनि सेयर बजार उकालो लागेको छ। साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.६८ अंकले बढेर २७४०.५९ बिन्दुमा पुगेको हो।
अघिल्लो कारोबार दिन सोमबार नेप्से २९.८७ अंकले बढेर २७२७.९१ बिन्दुमा बन्द भएको थियो भने आइतबार पनि १९.५६ अंकले बढेर २६९८.०३ बिन्दु कायम भएको थियो।
मंगलबार सूचकसँगै कारोबार पनि बढेको छ। आज नेप्सेमा कुल १० अर्ब ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन सोमबार ९ अर्ब ८९ करोड र आइतबार ९ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
मंगलबार कारोबारमा आएकामध्ये ८७ कम्पनीको सेयर मूल्य बढ्दा १४९ कम्पनीको घटेको छ। यस्तै, ८ कम्पनीको सेयर मूल्य भने स्थिर छ।
आज विन नेपाल लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त, इमर्जिङ नेपाल र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
यस्तै, सप्तकोशी विकास बैंक र केबीएल डिबेन्चरको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ। मंगलबार बैंकिङ समूह ०.२२ प्रतिशत, लगानी समूह १.२४ प्रतिशत, जीवन बिमा समूह १.७४ प्रतिशत र निर्जीवन बिमा समूह ०.३० प्रतिशतले बढेको छ।
विकास बैंक समूहमा १.७४, फाइनान्स समूहमा १.५०, होटल तथा पर्यटन समूहमा १.०४ र जलविद्युत् समूहमा ०.१३ प्रतिशतको गिरावट आएको छ।