काठमाडौं। भारतको ओडिसास्थित भुवनेश्वरको कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) ले नेपाली विद्यार्थी मृत्युपछि भएको घटनाप्रति माफी मागेको छ। कलेज आज सूचना जारी गर्दै किटमा भएको घटनाबारे क्षमा मागेको हो।
उसले सूचनामा भनेको छ, ‘हाम्रा कर्मचारीको व्यवहारबारे आवेगमा आएर केही टिप्पणी भए। त्यसबाट पुग्न गएको समस्याका लागि क्षमा चाहन्छौं। हामी सबैभन्दा माथि विद्यार्थीको सुरक्षा र कल्याणलाई प्राथमिकता दिन्छौं।’
यस्तै, घटनापछि नेपाली विद्यार्थी कुटपिटमा संलग्न दुई जना सुरक्षागार्डलाई हटाएको, दुई जना होस्टलका वरिष्ठ अधिकारी र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आइआरओ) का वरिष्ठ प्रशासन अधिकारीलाई निलम्बन गरिएको किटले जारी गरेको सूचनामा जनाइएको छ।
शैक्षिक संस्थाका कर्मचारीले विद्यार्थीलाई छिटो फिर्ता ल्याउन प्रयत्न गरिरहेको पनि उक्त सूचनामा उल्लेख छ। यसका लागि कलेजले हटलाइन सेवा सुरु गरेको छ।
फागुन ४ गते बेलुकी रुपन्देहीको सिद्धार्थनगर८ कि २० वर्षीया प्रकृति लम्साल कलेजको होस्टलमा मृत भेटिएकी थिइन्। उनी केआइआइटीमा बि–टेक तेस्रो वर्षमा अध्ययनरत थिइन्।
उनको मृत्युपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीले घटना शंकास्पद रहेको भन्दै छानबिन हुनुपर्ने माग गरेर प्रदर्शन गरेका थिए।
सोही क्रममा कलेज प्रशासनले नेपाली विद्यार्थीलाई होस्टलबाट निष्कासित गर्नुका साथै दमनमा उत्रिएको थियो। उक्त घटनामा प्रहरीले प्रकृतिकै सहपाठी उत्तर प्रदेशका एडविक श्रीवास्तवलाई पक्राउ गरेर अनुसन्धान थालेको भारतीय सञ्चार माध्यमले बताएका छन्।
पक्राउ परेका युवकविरुद्ध प्रकृतिले यसअघि विश्वविद्यालय प्रशासनलाई उजुरी दिदाँ पनि कलेज प्रशासनले चासो नदिएको नेपाली विद्यार्थीको गुनासो छ।
त्यसपछि उनीहरूलाई कलेज निकाला गरिएको थियो। घटनाको ६ घन्टापछि विद्यार्थीसँग माफी मागेर कलेज फर्किन आग्रह गरेको थियो।
दिल्लीस्थित नेपाली दूतावासका अनुसार मृतक प्रकृतिको शव ओडिसाको एक अस्पतालमा राखिएको छ।
