भक्तपुर। भक्तपुरको पर्यटकीय क्षेत्र नगरकोटमा सोमबार सम्पन्न उपत्यका मेयर्स फोरमको ११औं बैठकले आगामी वैशाख १ गतेदेखि चाँगुनारायण नगरपालिकाले आयोजना गर्न लागेको ‘नगरकोट भ्रमण वर्ष’ सफल पार्ने निर्णय गरेको छ।
चाँगुनारायण नगरपालिकाको आयोजनामा नगरकोटमा सम्पन्न उपत्यका मेयर्स फोरमको बैठकमा सहभागी बागमती प्रदेशका मुख्यमन्त्री, प्रदेश मन्त्रीहरू, नगर प्रमुखहरू, उपप्रमुखलगायत जनप्रतिनिधिहरूको बैठकले तीनै तहका सरकारले भ्रमण वर्ष सफल पार्न सहयोग गर्नुपर्नेमा जोड दिए।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले नगरकोट भ्रमण वर्ष सफल बनाउन प्रदेश सरकारबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। उपत्यका मेयर्स फोरमसँग सहकार्य गर्दैै अगाडि बढ्न तयार रहेको भन्दै उनले त्यसका लागि नियमित छलफल आवश्यक रहेको बताए।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले स्थानीय तह र प्रदेश सरकारबीच सहकार्य भए धेरै क्षेत्रमा अगाडि बढ्न सकिने आँैल्याए। सहकार्य र समन्वयका आधारमा भ्रमण वर्ष सफल बनाउनुपर्ने उनको भनाइ छ।
प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले पर्यटकीय नगरी नगरकोटको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गर्न लागिएको नगरकोट भ्रमण वर्ष सफल पार्न प्रदेश सरकारको सहयोग रहने बताए। उनले पर्यद्धन प्रवर्द्धनका माध्यमबाट नागरिकको जीवनस्तर सुधार गर्नुका साथै समृद्ध मुलुक निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
उपत्यकामा सञ्चालित सवारीसाधनको धुवाँ प्रदूषण परीक्षण प्रविधि कार्यान्वयनमा ल्याउने
उपत्यकाका अस्पाललजन्य फोहरमैला व्यवस्थापन गर्नेलगायत निर्णय बैठकले गरेको छ। प्रदेश सरकार र स्थानीय तहबीच वित्तीय हस्तान्तरण, राजस्व बाँडफाट र अन्तरतह समन्वयसम्बन्धी विषयमा छलफल गर्नुका साथै स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारबीचको आपसी सहकार्य, समन्वय गर्दै अगाडि बढ्नेबारे सहमति भएको थियो।
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले पर्यटकीय क्षेत्र नगरकोटलाई मेयर्स फोरमका माध्यमबाट चिनाउने अवसर पाएको चर्चा गर्दै समग्र नगरपालिकाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नगरकोट भ्रमण वर्ष मनाउन लागिरहेको जानकारी दिए।
उनले मेयर्स फोरमलगायत प्रदेश सरकारलाई निमन्त्रणा दिँदै भ्रमण वर्ष सफल पार्न सहयोगी भूमिका निर्वाह गरिदिन आग्रह गरे।
चाँगुनारायणका उपप्रमुख रमेश बुढाथोकीले नगरकोट भ्रमण वर्ष चाँगुनारायणको मात्रै नभई बागमती प्रदेशका साथै मुलुकको पहिचान र पर्यटकीय गन्तव्य भएकाले स्वदेशी तथा विदेशी पर्यटकलाई नगरकोटको बसाई लम्ब्याउन पर्यटन वर्ष सफल हुने विश्वास व्यक्त गरे।
मेयर्स फोरमका अध्यक्ष चिरिबाबु महर्जनको सभापतित्वमा सम्पन्न बैठकमा उपत्यकाका नगर प्रमुख र उपप्रमुखहरूको सहभागिता रहेको थियो।
बैठकमा चाँगुनारायण नगरपालिकाको बृहत् रूपमा तयार पारिएको वृत्तचित्र प्रदर्शन गरिनुका साथै कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डंगोललाई पहिलो पटक बैठकमा स्वागत गरिएको थियो।